नेपाल समाचारपत्र
काठमाडौं
हात्तिवन सामाजिक सेवा केन्द्रको आयोजनामा स्व.अमृतमान श्रेष्ठ तथा श्रीमती पृथ्वीकुमारी श्रेष्ठबाट स्थापित केवल–जय–भगवती छात्रवृत्ति पुरस्कार वितरण सम्पन्न भएको छ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सामुदायिक विद्यालयकातर्फबाट खोकना जनमाविका प्रज्ञा केसीले सर्वोकृष्ट छात्राका रूपमा छात्रवृत्ति पुरस्कार, साथै छात्र विधामा सेतीदेवी मावि सोखेलका विशाल कुँवर तथा सोही विद्यालयकै दीपकिरण बस्नेत बराबर जीपीए प्राप्त गरी पुरस्कृत हुनुभएको थियो।
संस्थागत विद्यालयकातर्फबाट छात्र तथा छात्रा दुवै विधाका उत्कृष्ट विद्यार्थी ग्रीनहिल माविका प्रकृति तामाङ तथा आशिष आचार्यले प्राप्त गरेका थिए।दक्षिणकाली नगरपालिका–१ खहरेको केभिन रोहन स्मृति प्रतिष्ठानमा भएको उक्त कार्यक्रम विशिष्ट अतिथिका रूपमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ, तथा विभिन्न क्याम्पस तथा विद्यालयका प्रमुखको सहभागिता रहेको थियो।
नगरप्रमुख बस्नेतले केवल–जय–भगवतीछात्रवृत्ति पुरस्कार वास्तवमै राम्रो र सह्रानीय कार्य भएको बताउँदै यस किसिमको सहयोगबाट नगरपालिकाको विकासमा ठुलो टेवापुग्ने र यस्ता सहयोग अन्य विधाहरूमा पनि गर्नका लागि आह्वान गर्नुभएको थियो।
प्रमुख अतिथि मन्त्री केसीले सामाजिक काम भनेको वास्तवमै जटिल कार्य भएको बताउँदै विशुद्ध सामाजिक काम गर्न सफल भएकोमा हात्तिवन सामाजिक सेवा केन्द्र तथा केवल जय भगवती गुठीलाई धन्यवाद दिनुभयो।