जग्गा गोलमालमा ५४ विरुद्ध मुद्दा, १० जना मालपोतका कर्मचारी पनि



 

सुरेश तामाङ, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका १० कर्मचारीसहित ५४ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको गरेको छ। जग्गाधनी र मालपोत कार्यालयका कर्मचारीले जग्गा खरिद गर्ने बिचौलियासँगको साँठगाँठमा किर्ते गर्दै भ्रष्टाचार गरेको भन्दै आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

जग्गाधनीमध्येका केहीसँग मालपोत कार्यालयका कर्मचारी चिनेको र जग्गादर्ता गराइदिने प्रलोभन देखाई रकमसमेत लिई–दिई स्रेस्ता निर्माण गरेको अख्तियारले जनाएको छ।

मालपोत कार्यालय चाबहिलअन्तर्गत उपत्यकाका साविकका गोठाटार, बालुवा, मूलपानी, विष्णु गाविसलगायतका स्थानका विभिन्न जग्गाहरूको गैरकानुनी स्रेस्ता तयार गरी विक्रीवितरण गरिएको अख्तियारले जनाएको छ।

जग्गा किर्तेमा संलग्न भनिएका कर्मचारीहरूमा मालपोत अधिकृत चेतनाथ ढकाल र तिर्खाराम अर्याल, कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालीन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबुप्रसाद अर्याल छन्। त्यस्तै, अन्य कर्मचारीहरूमा नायब सुब्बा सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी तथा कम्प्युटर अपरेटर लक्ष्मणप्रसाद खतिवडा र खरिदार दिव्यराज घिमिरे छन्।

ती कर्मचारीहरूले आपसी मिलेमतोमा गैरकानुनी ढंगले स्रेस्ता खडा गरी, कार्यालयमा रहेको दर्ता बाँकी स्रेस्ता केरमेट तथा प्रमाणित गरी, कार्यालयबाट वैधानिकरूपमा निर्णय नै नभएका जग्गाहरूको विवरण ठीक देखाएर किर्ते गरेको अख्तियारले जनाएको छ।

कार्यालय सहयोगी राजेन्द्र बस्नेतले दर्ता बाँकी जग्गाको स्रेस्तामा नाम उल्लेख भएका व्यक्तिको खोजतलास गरी आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई जग्गा दर्ता गरिदिने प्रलोभनमा जग्गाधनीहरू हरिनारायण श्रेष्ठ, हरिलाल श्रेष्ठ, होमबहादुर विष्ट, धर्म महर्जन, श्यामसुन्दर दाहाल, विश्वनाथ लामिछाने र ध्रुवराम श्रेष्ठसँग १८ लाख ८२ हजार रुपियाँ रकम लिएको अख्तियारको ठहर छ।

जग्गा किर्तेमा संलग्न जग्गाधनीहरूमा काजिलाल श्रेष्ठ, हरिभक्त श्रेष्ठ, टीकानारायण श्रेष्ठ, मोहनमाया श्रेष्ठ, चेतबहादुर मिजार, श्रीकृष्ण नगरकोटी, पुरुषोत्तम थापा, घनश्याम कार्की, प्रेमबहादुर कार्की, रामहरि ढकाल, रामबाबु ढकाल, रामेश्वर ढकाल, श्यामबहादुर मिजार, भरत कारञ्जित, कृष्णप्रसाद लामिछाने र रामप्रसाद लामिछाने रहेको अख्तियारले जनाएको छ।

त्यस्तै, उमादेवी गुरुवाचार्य, उज्वल थापा, लिलाकुमारी रेग्मी धिताल, दुर्गालाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, श्रीधर देवकोटा, राजु थापा, शान्ति वैद्य, रामकेशरी श्रेष्ठ, मदनबहादुर थापा, बहत्तमगोपाल श्रेष्ठ, नरबहादुर दोचे, रामगोपाल डंगोल, रामकृष्ण डंगोल, धनबहादुर महर्जन, मोतीराम श्रेष्ठ, नारायणीदेवी श्रेष्ठ, गम्भीरबहादुर चाँदीकार, प्रेमबहादुर केसी र सुशीला रामुदामु पनि जग्गाकिर्तेमा संलग्न रहेको अख्तियारको ठहर छ। करोडौं भ्रष्टाचार गरी ५१ वर्षदेखि दर्ता रोक्का रहेका जग्गाहरू गैरकानुनी हिसाबले फुकुवा गर्दै विक्रीवितरण गरेको आरोपमा मालपोत कार्यालय चाबाहिलका ९ जनाकर्मचारीसहित १ जना दलाललाई अख्तियारले अनुसन्धानकै क्रममा साउनको २७ देखि पक्राउ गर्दै हिरासतमा राखेको थियो।

 

प्रतिक्रिया दिनुहोस्