एक गाउँ, एक मोडेल – पशुपंक्षी मन्त्री

0
Shares

नेपाल समाचारपत्र, बाँके । पशुपंक्षी विकासमन्त्री सन्तबहादुर थारुले एक गाउँ, एक मोडेलको अवधारणा अघि बढाएको बताउनु भएको छ ।

प्रेस सेन्टर, बाँकेले मंगलबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थारुले छर्ने बजेट नभएर परिणामुखी कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘एक गाउँ, एक मोडेलका अवधारणा बनाएर अघि बढ्नु पर्छ, मन्त्री थारुले भन्नुभयो, छर्ने बजेट बनाएर न त काम हुन्छ, न त जनताले राहत नै पाउँछन् ।’

मन्त्री थारुले एक गाउँमा बाख्रा, अर्को गाउँमा बंगुर, अर्को गाउँमा गाईको बजेट क्षेत्र बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । बाँकेको राप्तीसोनारीलाई बाख्राको पकेट क्षेत्र बनाएर अघि बढ्नु पर्ने मन्त्री थारुको भनाई थियो ।

मुक्त कमैया, सुकुम्बासी, सीमान्तकृत समुदायलाई विशेष फोकस गर्नुपर्नेमा मन्त्री थारुले जोड दिनुभयो । ‘आधारभूत वर्गलाई आर्थिक रुपमा सम्बृद्धि गर्दै जाने कार्यक्रमहरु बनाउनु पर्छ । मन्त्रालयमा त्यसमा लागेको छ, मन्त्री थारुले भन्नुभयो ।

एक वर्षमा अण्डा, दुई वर्षमा मासु र तीन वर्षमा दूधमा आत्मनिर्भर बनाउन मन्त्रालयले अभियान चलाएको मन्त्री थारुको भनाई थियो । ‘यो योजनालाई सफल बनाउन सबैले आ–आफ्ना ठाउँबाट सहयोगी कार्यक्रमहरु बनाउनु पर्छ, मन्त्री थारुले भन्नुभयो, मध्यपश्चिमका सम्बद्ध अधिकारीहरुसँग यस विषयमा छलफल भएको छ ।’

एक छुट्टै प्रश्नमा मन्त्री थारुले बर्दियाका तिनै जना मन्त्री बसेर जिल्लाको विकासका लागि रणनीति बनाउने बताउनुभयो । सिंचाई, भूमिसुधार र पशुपंक्षी विकास मन्त्रालयको अधिकतम स्रोत जिल्लामा ल्याएर विकास गर्ने मन्त्री थारुको भनाई थियो । ‘हामी तिनै जना बसेर जिल्लामा आ–आफ्ना मन्त्रालयबाट कति गर्न सक्छौं । त्यसबारेमा छलफल गर्ने तयारी गरेका छौं, मन्त्री थारुले भन्नुभयो, तीन जना मन्त्री पाएको जिल्लाको विकास त छुट्टै हुनुप¥यो नि ।’

मन्त्री थारुले बाँके र बर्दियाका बाढीपीडितलाई दोस्रो चरणको राहतका लागि अगाडि बढेको बताउनुभयो । २०७१ सालमा आएको बाढीबाट पीडित भएका यी जिल्लाका बासिन्दाले पूर्णरुपमा राहत पाइसकेका छैनन् । गतवर्ष ४९ करोड आएकोमा ३० करोड फिर्ता भएको थियो ।