नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडाको सडकमा पहिले गुड्ने धेरै प्रकारका गाडी हिजोआज देखिँदैनन् । त्यसबेला प्रसिद्ध र नाम चलेका गाडी हिजोआज कहाँ पुगिसकेका छन्, पत्तो छैन । ती सवारीको अस्तित्वको त कुरै छाडौं, चढ्नेहरुले नामसमेत बिर्सिसकेका छन् । त्यसैले, हाल यहाँ चल्ने सवारीसाधनको समीकरण बदलिँदै गएको छ ।
साना तथा मझौला साधनको बाहुल्यताले ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ । तर, तथ्यांकले सवारी समीकरण बदलिँदै गएको देखाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा हेटौंडामा भित्रिएका नयाँ सवारीसाधनमा मझौला तथा साना साधनको आयात र खरिदबिक्री बढेको देखिएको हो ।
गत वर्ष हेटौंडामा व्यक्तिगत प्रयोजनका सवारीमा मोटरसाइकल र स्कुटरको आयात र बिक्री बढेको व्यवसायीको भनाइ छ । थोरै संख्यामा यात्री अटाउने क्षमताका माइक्रो र मिनीबस कममात्र भित्रिएका छन् । व्यक्तिगत प्रयोजनार्थ प्रयोग हुने मोटरसाइकल र स्कुटरको आयात बढेपछि कार÷जीपको खरिदबिक्री घटेको छ । बसको आयात अघिल्लो वर्षको तुलनामा बढेको तथ्यांक छ । सार्वजनिक सवारीमा प्रयोग हुने माइक्रो र मिनीबसको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेको पाइएको छ ।
सरकारले ठूला सवारीसाधनलाई प्राथमिकता दिँदै साना सवारी निरुत्साहित गर्ने नीति लिए पनि साना सवारीकोे संख्या घट्न सकेको छैन । सरकारले ठूला बस आयातमा भन्सार सहुलियत दिँदै आएको छ । महंगो पर्ने भए पनि मोटरसाइकल प्रयोग गर्नेहरु स्थानीयस्तरमा बढेको सडकको सवारी आवागमनको अवस्थाले देखाएको छ । सरकारले ठूलालाई सहयोगको यस्तो नीति लिए पनि व्यक्तिगत प्रयोजनका साना सवारी आयातमा भने कमी आउन सकेको छैन ।
हेटौंडामा हिजोआज सवारी जाम बढेको छ । साना सवारीको चाप पछिल्लो समय बढ्दै गएका कारण जाम हुने गरेको हो । पूर्वपश्चिम जाने आउने र स्थानीयस्तरमै मोटरसाइकलको संख्या करिब ७ हजार रहेकोले बजार क्षेत्रमा सवारी चाप बढेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक नवीनकुमार अधिकारी बताउँछन् ।
‘व्यक्तिगत प्रयोजनका लागि साना सवारी जति बढे, त्यति नै सवारी जामको समस्या निम्तिन्छ,’ उनले सवारी समीकरण फेरिएर यहाँ दिनहुँ चल्ने करिब १ हजार २ सय मयुरी/अटोले पनि ट्राफिक व्यवस्थापनमा असर गरेको बताए । पछिल्लो समय हेटौंडा ‘भेहिकल ट्रान्जिट प्वाइन्ट’ बनेको भन्दै प्रनि अधिकारीले पूर्वपश्चिम, त्रिभुवन राजपथ र कान्तिलोकपथ यहीं भएर जाने भएकाले यस्तो देखिएको स्पष्ट पारे ।
टेम्पोको आयात भने उच्च दरका बृद्धि भएको छ । घना सहरी इलाकामा प्रचलित टेम्पोको आयात अघिल्लो वर्षको तुलनामा निकै बढेको छ । भारतको अघोषित नाकाबन्दीपछि हेटौंडामा टेम्पोको लोकप्रियता बढ्दै गएको व्यवसायीको भनाइ छ ।
यातायात व्यवसायीको देशकै ठूलो हेटौंडास्थित नारायणी यातायात व्यवसायी संघमा ६ सय ८० बस, ४ हजार ३ सय २३ ट्रक, ६ सय ७० ट्यांकर, ३ सय ३५ सुमो, ५ सय ९० ट्रिपर, ३ सय ५ कन्टेनर, ३ सय ६६ मिनीट्रक, १ सय ५८ माइक्रो र ३० वटा म्याजिक भ्यान सदस्य नवीकरण भएको संघका कार्यालय प्रमुख शंकर दाहालले बताए । तीमध्ये अधिकांश हेटौंडामै चल्छन् ।
गएको वर्ष देशभर ४ लाख ४४ हजार २ सय ५९ वटा सवारीसाधन आएकोमा सबभन्दा बढी मोटरसाइकल र स्कुटर ३ लाख ५४ हजार ७१ वटा छन् । २१ हजार २ सय ९२ कार, जीप, भ्यान दर्ता भएका छन् । खेती÷किसानीमा प्रयोग हुने ट्याक्टर र पावर ट्रेलरको आयात १७ हजार ८५ वटा भएको सरकारी तथ्यांक छ । १० हजार ६ सय ७५ वटा पिकअप भ्यान नेपाल आएका छन् ।
हालसम्म नेपालमा २७ लाख ८३ हजार ४ सय २८ सवारी दर्ता भएका छन् । जसमा सबभन्दा बढी २१ लाख ८९ हजार ९९ मोटरसाइकल र स्कुटर छन् भने ७८ हजार २ सय ५७ कार, जीप र भ्यान दर्ता भएका छन् ।











प्रतिक्रिया