शिक्षा दिने शिक्षक नै बलात्कारी

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीमा शिक्षा दिने एक शिक्षकले नै आफ्नी १४ वर्षिया शिष्या (चेली) लाई बलात्कार गरेकोले महोत्तरी प्रहरीले उनलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्ने शिक्षक औरही गाउँपालिका १ का २८ वर्षीय प्रमोद महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले बताए । उनका अनुसार महतोले श्रीप्रसाद सिंह उच्च मावि औरहीमा कक्षा ८ मा अध्ययनरत ती बालिकालाई एक वर्ष अघिदेखि टयुशन पढाउँदै आएको र सोही समयदेखि शिक्षकले नै ती शिष्यालाई यौन शोषणको शिकारमा पार्दै आएको खुलेको छ ।

साउन १७ गते शिक्षक महतो ती शिष्यालाई ललाईफुकाई भारतको सितामढीमा आफ्नो साथीको घरमा लगेका थिए । बालिकाका परिवारजनले अबेर साँझसम्म आफ्नी छोरी घरमा नआएपछि खोजतलास गर्न सुरु गरे । परिवारजनले छोरी नभेटिएपछि हराएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

 

हराएको बालिकाको खोजतलास गर्दै जाँदा उनलाई शिक्षा दिने शिक्षकले नै भारतमा बन्धक बनाएर राखेको सूचना प्रहरीले पाएपछि औरही प्रहरी चौकीबाट खटि गएको प्रहरी टोलीले साउन २१ गते सितामढीबाटै शिक्षकसहित ती शिष्यालाई उद्धार गरी नेपाल ल्याएको अनुसन्धानबाट खुल्न गएको हो ।

 

यता उद्धार गरी ल्याईसकेपछि ती बालिकाको मेडिकल चेकजाँच गराईएको र रिपोर्ट आएपछि थप कुरा खुल्न सक्ने प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय गौशालाले आरोपित शिक्षक महतोलाई हिरासतमा राखेको र उनीविरुद्ध जबर्जस्ती करणी तथा जीउमास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता गराएको जानकारी गराएको छ ।