मेला भर्न आउने भक्तजन घटे

0
Shares

 

सुनील महर्जन, ललितपुर
ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर महादेवको मेला भर्न आउने भक्तजनहरूको संख्या विगतमा तुलनामा घटेको पाइएको छ।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि त्यसको भोलिपल्ट पुरै दिनभर सर्वेश्वर महादेवको मेला लाग्ने परम्परा रहेको छ। यसलाई जनैपूर्णिमा र नेवार समुदायमा गुन्पुन्ही र क्वाँटी पुन्हीका रूपमा मनाउने गरिन्छ।

सोहीअनुरुप आइतबार साँझदेखि सोमबार मेला लागेको थियो। यस वर्ष पूर्णिमाको दिन चन्द्र ग्रहण रहेको भन्दै पञ्चांग निर्णायक समितिले नाग पञ्चमीको दिन जैन लगाउने तिथि निर्धारण गरेकाले थियो। यसले गर्दा श्रावण शुल्क पूर्णिमालाई नेवार समुदायले मात्र गुनपुन्ही र क्वाँटी पूर्णिमाको रूपमा सोमबार मनाइयो।

यस अवसरमा पाँच तल्ले मन्दिरभित्र रहेको सर्वेश्वर महादेवलाई आइतबार राति परम्परागत काँ बाजा, नायखीँ बाजा बजाउँदै बंगलामुखीनजिक रहेको पोखरीमा राखिएको थियो। यो मेलामा बढी भीडभाड हुने भनेको देउता पोखरीमा राख्ने बेला रहेको स्थानीयहरू बताउँछन्। पूर्णिमाको अघिल्लो रात देउता पोखरीमा राखेपछि मेलाको विधिवत् शुरुआत हुने गर्दछ। पोखरीमा देउता राखेको दृश्य हेर्न विगतमा मानिसहरूको तँछाडमछाड हुने गर्दथ्यो।

‘खुट्टाले भुइँमा टेक्ने ठाउँ नहुने गरी खचाखच भीड यसपटक देखिएन। भक्तजनहरू रातभर जाग्राम बसेर समूहमा गीत गाइरहेको दृश्य पनि हिजो देखिएन। अघिल्लो वर्षमा जनै बाँड्ने पुरोहितहरूको भीड पनि यसपटक रहेन। काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूबाट भक्तजनहरू खासै नआएको स्थानीयबासीहरूको भनाइ रहेको छ।

विगतमा पूर्णिमाको दिन गोसाइँकुण्ड जान नभ्याएको भक्तजनहरू यस पोखरीमा नुहाएर र जनै लगाउने गरिन्थ्यो। ‘तर यसपटक जनै लगाउने दिन नागपञ्चमीमा सारिएको जनै लगाउन मानिसहरू मेला भर्न आउने कुरै भएन। यसले गर्दा मेलामा भक्तजनहरू संख्या निकै घट्को हो।’ º–पूर्व वडाध्यक्षसमेत रहनुभएका टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले भन्नुभयो।

अध्यक्ष खड्गीका अनुसार यसवर्ष नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, रामेछापलगायत उपत्यका बाहिरबाट झाँक्री र रातभर जाग्राम बस्ने भक्तजनहरू आएनन्। विगतमा जनै लगाउने र पूर्णिमा एकै दिन पर्ने भएकोले बिदा दिने गर्दथ्यो। तर यसपटक बिदा नभएकाले पनि भक्तजनहरूको घटेको अध्यक्ष खड्गीले बताउनुभयो। ‘सरकारले बिदा नदिएकामा स्थानीयहरू निकै असन्तुष्टि रहेको छ। सबै चाडपर्वको उचित सम्मान सरकारले गरेन।’ –अध्यक्ष खड्गीले भन्नुभयो।

यसपटक सरकारले पूर्णिमाको दिन बिदा नदिएर यो पर्वलाई बेवास्ता गरेको पूजारी माधवश्याम शर्माले नेपाल समाचारपत्रलाई बताउनुभयो। गृहमन्त्रालयले तराई मधेसका २० जिल्लामा रक्षाबन्धन मनाउन सोमबार बिदा दिएको थियो। ‘जैन लगाउन पनि सरकारले बिदा दियो, रक्षाबन्धन मनाउन पनि बिदा दियो, तर काठमाडौं उपत्यका क्वाँटी पूर्णिमा मनाउन बिदा दिएन।’ –पूजारी शर्माले भन्नुभयो।

पूर्णिमाको अघिल्लो रात परम्परागतअनुसार नौ बाजा बृहत् प्रदर्शनी गरिएको थियो। नौ बाजाको प्रदर्शनी हेर्न स्थानीयहरूको भीड भनेको देखिएको थियो।