काठमाडौँ, १२ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर मन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उहाँले राज्यका निकाय एवं विदेशस्थित नियोगलाई एकीकृत ढंगबाट परिचालन गरेर वैदेशिक रोजगारीमा रहेका श्रमिकका तत्कालको समस्या सम्बोधन गर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री महराले भन्नुभयो, “आजको समस्यालाई बुझेर वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु नै वस्तुवादी हुन्छ ।”
श्रम तथा रोजगार मन्त्रालयसँग निरन्तर संवाद गरेर उनीहरुको समस्या समाधान गर्न आफू लागिपरेको उल्लेख गर्दै उहाँले यसका लागि परराष्ट्र, गृह, अर्थ र श्रम मन्त्रालयका प्रतिनिधिसहितको संयन्त्र बनाइसकेको जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री महराले श्रमिकका समस्यालाई तदारुकताका साथ परिणाममुखी बनाउने विश्वास दिलाउँदै “श्रमिकका विषयमा सरकार संवेदनशील र गम्भीर छ,” भन्नुभयो ।
मध्यपूर्वमा काम गर्ने श्रमिकका विषयमा विशेष ढंगबाट सोच्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खाडी राष्ट्रका नियोग र श्रमसहचारीसहितको सम्मेलन गरेर समस्यालाई सम्बोधन गर्ने सोचका साथ आफू अगाडि बढेको जानकारी गराउनुभयो ।
उपप्रधानमन्त्री महराले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यको सहभागिता हुनेगरी मध्यपूर्वमा खटिएका कूटनीतिक नियोग र श्रमसहचारीको समन्वय तथा सेमिनार गरेर श्रमिकका विषयमा तत्काल गर्न सकिने कार्यलाई अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो ।
तत्काल श्रमिक फिर्ता गर्न नसकिए पनि व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो –“त्यस कार्यका लागि सरकारले गम्भीररुपमा पहल गर्नेछ ।”
परराष्ट्रमन्त्री महराले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँगको कूटनीतिक सम्बन्ध अझ सबल बनाउने चर्चा गर्दै सरकारी तहमै श्रम सम्झौता गरेर मात्र श्रमिक पठाइने बताउनुभयो ।
तत्कालका लागि द्विपक्षीय परामर्श संयन्त्र बनाएर समस्याको समाधान गर्ने छ, उहाँले भन्नुभयो, “संयन्त्र बनाएर काम गर्दा आपसका समस्या पहिचान भई समस्याको समाधान हुन्छ ।”
परराष्ट्रमन्त्री महराले नेपाली नियोगमा रहेका श्रम डेस्कलाई प्रभावकारी बनाइने बताउँदै दीर्घकालमा मुलुकमै औद्योगिक विकास गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
आफू अर्थमन्त्री हुँदा २०० बन्द उद्योग पुनःस्थापना भएको र ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएकाले त्यसलाई निरन्तरता दिनेगरी अगाडि बढ्नुपर्ने बताउँदै उहाँले विदेशमा जाने श्रमिकका लागि स्वदेशमै रोजगार स्थापना गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हाम्रो लक्ष्य छ तर त्यो लक्ष्य आजै पूरा हुन सक्दैन भन्नुभयो ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले वैदेशिक रोजारीमा देखिएका नीतिगत कमजोरीलाई सुधार गर्नुपर्नेमा जोड दिदैं वैदेशिक रोजगारीमा भएका ठगीलाई नियन्त्रण गर्न गृहमन्त्रालयले विशेष फोर्स बनाएर काम गर्न लागेको जानकारी दिनुभयो ।
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने भन्दै त्यसका लागि सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले वैदेशिक रोजगारीबाट फर्केका महिला पुनः जान चाहेमा अनुमति दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा परराष्ट्रसचिव शंकरदास बैरागीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नुपर्ने बताउँदै वैदेशिक रोजगारीमा ठगी गर्ने व्यवसायी माथि छानबिन गरी नियोगले किटानी दिइसकेका उपर कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली नागरिकको सुरक्षा सरकारको दायिन्व हो, त्यसका लागि सरकारी निकायबीच समन्वय आवश्यक छ ।”
बैठकले वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालयबीच एउटै सफ्टवेर प्रयोग गरेर सूचना आदानप्रदान गर्न, रोजगारसम्बन्धी ऐन परिमार्जन गर्न र कूटनीतिक नियोगलाई निरन्तर नियमन गर्न निर्देशन दिएको थियो । रासस