सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदमा रहेको संविधान संशोधन विधेयक अगाडि बढाउने निर्णय लिएका छन्।
निर्वाचन आयोगमा दल दर्ता गरेर बालुवाटार पुगेको राष्ट्रिय जनता पार्टीसँगको वार्तामा सत्तारुढ दलहरुले संशोधन अगाडि बढाउने सहमति जनाएका हुन्।
बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले संशोधन पारितका लागि आवश्यक दुई तिहाई पुर्याउन सबै दल लाग्ने निर्णय भएको बताए।
‘संविधान संशोधन अगाडि बढाउने विषयमा छलफल भएको छ। २र३ तिहाई पुर्याउने कार्यमा सबै लाग्ने र निर्वाचन अघि नै संशोधन गर्ने कुरा भएको छ’, उनले भने, ‘प्रतिपक्षसँग पनि कुरा गर्ने। उहाँहरुले पनि छलफल गर्न सक्दिन भनेको होइन।’
बैठकमा राजपा नेताहरुले आफूहरुको संविधान संशोधन हुनुपर्ने अडान यथावत् रहेको बताएका थिए। बालुवाटारमा अघिपछि बेखुसी देखिने राजपाका नेताहरुको मुहार हँसिलो र चम्किलो थियो।
नेकपा माओवादी केन्द्रका नेता तथा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले राजपाले संशोधन पासका लागि आग्रह गरेको र कोशिश गर्ने समझदारी बनेको बताए।
कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले ‘राजपालाई चुनावमा ल्याउनका लागि संविधान संशोधनको प्रयास गर्ने’ समझदारी भएको र सकेसम्म यहि महिना भित्रै संशोधनको प्रयास गरिने बताए।
दल दर्ता गरेर बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले संविधान संशोधन अगाडि बढाउने समझदारी भएको स्वीकार गरे।
‘कति दिन भित्र हुन्छ हेर्न बाँकी छ’, ठाकुरले भने, हाम्रो अडान यथावत् छ।’
उनले संविधान संशोधन विना यथास्थितिमा प्रदेश २ को निर्वाचनमा भाग नलिने अडान राखे। ‘सरकारले समझदारी पुरा गरेपछि हामी विचार गर्छौँ’, ठाकुरले भने।











प्रतिक्रिया