नेपाल समाचारपत्र
काठमाडौं
पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ। विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन।
मधेस राजनीतिका अग्रणी नेता स्व. गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानका हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको छ। झाले मधेस राजनीतिको इतिहास पार्टीको विधानमा नसमेटिए आफू कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताउँदै आउनुभएको छ।
यता अर्का नेता महेन्द्रप्रसाद यादवले राजपा मधेसवादी पार्टी मात्रै नभएकाले स्व. सिंह र तिवारीलाई विधानमा उल्लेख गर्नु उपयुक्त नहुने बताउँदै आउनुभएको छ। विवाद समाधानका लागि बिहीबार बस्ने भनिएको राजपा अध्यक्ष मण्डलको बैठक पनि बस्न सकेको छैन।
यता मधेसी जनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरिएको छ। जनकपुरधामका केही युवा आक्रोशित बन्दै मधेसीहरूको भावनामा ठोस पुग्ने अभिव्यक्ति दिएको भन्दै यादवलाई सचेत हुन आग्रहसमेत गरेका छन्।
बिहीबार साँझ जनकपुरधामस्थित जनक चोकमा संयुक्त युवा मोर्चाले यादवको विरोध गर्दै पुतला दहन गरेको हो। मधेस आन्दोलन जारी रहेकै बेला उपेन्द्र यादव निर्वाचनमा सहभागी भएर मधेसीहरूसँग धोका गरेको मोर्चाको आरोप रहेको छ। पुतला दहनअघि जनकचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा नेताहरूले मधेसबाट उपेन्द्र यादवलाई बहिष्कार गर्नुपर्ने बताएका थिए।











प्रतिक्रिया