ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले आज शुक्रबार ७१औं जन्मदिन मनाउनुहुनेभएको छ। आजबाट ७० वर्ष पूरा हुनुभएका पूर्वराजा शाहले आफ्ना कर्मचारी र आफन्तलाई पहिला र त्यसपछि सर्वसाधारण जनतासँग शुभकामना ग्रहण गर्ने कार्यक्रम रहेको छ। निर्मल निवासमा आयोजना हुने शुभकामना कार्यक्रम बिहान साढे १० देखि शुरू हुनेछ। बिहान साढे १० बजे कर्मचारी र आफन्त र ११ बजेदेखि सर्वसाधारणका लागि समय छुटइइएको छ।
निर्मल निवास, नागार्जुन, महेन्द्र मञ्जिलमा कार्यरत करिब सय कर्मचारीमध्ये केहीले दाम चढाएर शुभकामना दिने प्रचलन रहेको छ। करिब एक महिनादेखि जन्मोत्सव मूल समारोह समिति गठन गरी देशव्यापी रूपमा प्रचार गर्दै आएको थियो।
बिहान १० बजेबाट राजधानीका आधा दर्जन स्थानबाट झाँकीसहित पूर्वराजालाई भेट गर्ने कार्यक्रम तय गरिएको विश्व हिन्दू युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिनुभयो।
भद्रकाली, जीवनकुञ्ज, शिक्षण अस्पताललगायत विभिन्न स्थानबाट जुलुससहित शुभकामना दिन निर्मल निवास आउने कार्यक्रम रहेको छ। महासंघले हनुमानढोकास्थित मखन महादेव मन्दिरबाट राष्ट्रिय झण्डासहित पूर्वराजालाई शुभकामना दिन निर्मल निवास जाने कार्यक्रम तय गरेको छ।
हनुमानढोकाबाट राष्ट्रिय पोशाकसहित झण्डा बोकेका युवा समूहले पूर्वराजालाई झण्डा उपहार दिने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष महर्जनले जानकारी दिनुभयो।
जन्मदिनको शु्भकामना दिन भैरहवा, बारा, पर्सा, रौतहट, सुनसरी, झापालगायत विभिन्न जिल्लाबाट राजावादीहरू निर्मल निवास आउने कार्यक्रम रहेको छ।
उता पूर्वराजाले आफू ७० वर्ष पूरा भएको अवसरमा दुई स्थानमा भोज दिनुहुने कार्यक्रम रहेको छ। स्रोतका अनुसार शनिबार वा आइतबारमध्ये एक दिन अन्नपूर्ण होटल र ३० गते निर्मल निवासमा आफन्त र परिवारलाई मात्रै रात्रीभोज दिने कार्यक्रम रहेको छ।
अन्नपूर्णमा आफू निकटका साथीभाइ समावेश हुने कार्यक्रम तय भएको छ भने ३० गते निर्मल निवासमा आफ्ना परिवारलाई भोजको आयोजना गरिने बताइएको छ।











प्रतिक्रिया