सुरेश तामाङ, काठमाडौं
राजधानीबासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन्।
सुरुङ मार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाइ हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो। आयोजनाले राजधानीबासीलाई यस वर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो।
‘हामीले साउनको अन्तिमतिर परीक्षण गर्छौं, यसका लागि रफ्तारमा काम भइरहेको छ’, आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले भन्नुभयो– ‘बागमतीको पानी विशेष गरी सुन्दरीजलमा निर्माणको अन्तिम चरणमा रहेको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र जसले पानीलाई शुद्ध र निर्मलीकरण गर्दछ) को परीक्षण, अहिले बिछइइरहेका खानेपानीका पाइपहरू, विभिन्न स्थानमा बनेका पानी पोखरीहरूको क्षमता परीक्षणका लागि बागमतीको पानी ल्याउन लागिएको हो।’
उहाँका अनुसार बागमतीको पानी सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा प्रशोधन भई पिउन योग्य भएमा राजधानीका बासिन्दालाई हाल बिछइइरहेको पाइप लाइन र केयूकेएलकै यथावत् रहेको सञ्जालबाट पानी खुवाउने योजना रहेको छ।
आयोजनाले मेलम्ची खोलाको पानी उपलब्ध नभएसम्मका लागि वैकल्पिक व्यवस्था स्वरुप यस्तो गर्न लागेको जनाएको छ। आयोजनाले वर्षात्का समय पानीको स्रोत पनि ठूलो हुने र बागमती नदीलाई समस्या नपार्ने तरिकाले बागमती खोलाको पानी उपयोग गर्न लागिएको हो।
आयोजनाले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रदेखि ५ सय मिटर टाढा र केयूकेएलले राजधानी ल्याइरहेका भन्दा ४ सय मिटर माथि बागमतीको पानी ल्याउने तयारी गरिएको हो।
साउनको अन्तिमतिर परीक्षण गर्नका लागि सामान्य इन्टेकको काम र पाइप बिछइउने काम भइरहेको छ। आयोजनाले हाल ३ सय ५५ एमएम साइजको पाइपलाइनको व्यवस्था गरेको छ।
बागमतीको पानी ल्याउने योजना अस्थायी किसिमको रहेकाले हाल अस्थायी संरचनाहरू मात्रै बनाइरहेको आयोजनाले प्रस्ट पारेको छ। बागमतीको पानी केयूकेएलले पनि प्रयोग गरिरहेको छ। आयोजनाले भने बागमतीको पानी वर्षात्को बेला बहाव बढी हुने भएकाले प्रयोग गर्ने र बागमती नदीलाई सुखा हुने तरिकाले प्रयोग नगर्ने जनायो।
बागमतीको पानी सो पाइपबाट सुन्दरीजलको प्रशोधन केन्द्रमा आएपछि ट्रिटमेन्ट भइसकेपछि सो पानीले उपत्यकामा हाल बिछ्याइरहेको पाइपको लिकेज हेर्ने, पाइप फ्लसिङ गर्ने, ट्रिटमेन्ट प्लान्टले अपेक्षाअनुसार काम गर्छ कि गर्दैन भनी परीक्षण गर्ने उद्देश्यसमेत रहेको छ। यति गरिसकेपछि पानी पूर्णरूपमा पिउन योग्य भएमा वितरण गर्ने आयोजनाको लक्ष्य छ।
दैनिक साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सक्ने सुन्दरीजलको प्रशोधन केन्द्रमा बागमतीबाट भने दैनिक ५ देखि ६ करोड लिटर ल्याउने योजना आयोजनाको रहेको आयोजनाका उपकार्यकारी निर्देशक दुवाडीले बताउनुभयो।
उहाँका अनुसार बागमतीको पानी ल्याएर ट्रिटमेन्ट प्लान्ट, पाइपलाइन, ट्यांकीलाई परीक्षण मात्रै नभई पूर्णरूपमा सञ्चालन गर्ने योजनासमेत रहेको छ। बागमतीको पानी सुन्दरीजलमा आएपछि कम्तिमा २–३ महिनासम्म चलाउने योजना आयोजनाको छ।
तर मेलम्ची आयोजनाको उपआयोजना–२ ले गरिरहेको थोक वितरण र वितरण सञ्जालअन्तर्गतको पाइपलाइन बिछ्याउने कार्य अझै बाँकी छ। उपआयोजना २ ले ८५ प्रतिशतमात्रै पाइपलाइन बिछ्याएको छ।
उपआयोजना–२ ले थोक वितरण प्रणालीअन्तर्गत ६० किमि पाइपलाइन विस्तार गर्नुपर्नेमा हाल ५६ किमिको हारहारीमा पाइपलाइन बिछ्याइसकेको छ भने ६ सय ७० किमि बितरण सञ्जाल सुधारअन्तर्गत ५ सय ६५ किमिको हाराहारीमा पाइपलाइन बिछ्याउने काम सम्पन्न गरेको छ।
त्यस्तै पानी वितरणका लागि ९ वटा ट्यांकीहरू बनाउनुपर्नेमा महांकाल, बाँसबारी पानीपोखरी, बालाजु, र खुमल्टारको गरी पाँच वटा ट्यांकीको निर्माण पुरा गरेको छ भने टिगन, कीर्तिपुर र आरुबारीका खानेपानी ट्यांकी निर्माणाधीन छ। यसको भौतिक प्रगति ६० प्रतिशत भएको उपआयोजना–२ ले जनाएको छ।
त्यस्तै कटुञ्जेको पानी ट्यांकी भने बल्ल निर्माण शुरू भएको छ।











प्रतिक्रिया