वडाध्यक्षले काम थाले



रसुवा, (नेस)
वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको चुनावमा विजय भएका रसुवाका वडा अध्यक्षले काम शुरू गरेका छन्। नयाँ व्यवस्थाअनुसार जिल्लामा कायम गरिएको २७ वटा वडामध्ये २२ वटा वडाको कार्यालय स्थापना गरी काम शुरू भएको हो।

पाँचवटा गाउँपालिका रहेको जिल्लामा अब पाँचवटा वडाको मात्र कार्यालय स्थापना गर्न बाँकी रहेको छ। भूकम्पका कारण भत्किएका निजी घर निर्माण भइनसकेका कारण पार्वतीकुण्ड गाउँपालिकामा दुई, कालिका, नौकुण्ड र गोसाइँकुण्डमा एउटा एउटा वडामा कार्यालय स्थापना गर्न समस्या आएको हो।

सञ्चालनमा आएको २२ वटा कार्यालयमध्ये १५ वटा वडाको आफ्नै कार्यालय रहेको छ भने ७ वटा वडाको कार्यालय भाडाको घरबाट सञ्चालनमा आएका हुन्। खास गरी वडाबाट सहभागितामूलक योजना तर्जुमा, तथ्यांक अद्यावधि, विकासका कार्य, सिफारिस र प्रमाणीकरण, स्थानीय न्यूनतम दररेट निर्धारण, उपभोक्ता समिति निर्माण र परिचालनलगायतका काम वडाले गर्न पाउने छन्। उत्तरगया गाउँपालिकाको पाँचवटै वडाको आफ्नै कार्यालय रहेको प्रमुख उपेन्द्र लम्सालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्