मतदाता शिक्षाका लागि उत्साह



बैतडी, (नेस)
असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः बैतडीमा मतदाता शिक्षाका लागि स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्ता गाउँ–गाँउमा परिचालन गरिएका छन्।

जिल्ला निर्वाचन कार्यालय, बैतडीका अनुसार तालिम प्राप्त गरेका १ सय ७४ जना स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ।

‘चार नगरपालिका र छ गाउँपालिकाका ८४ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौं’ – जिल्ला निर्वाचन कार्यालय, बैतडीका प्रमुख माधवप्रसाद फुयालले भन्नुभयो।

मतदाता शिक्षाका लागि परिचालितहरुलाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामा खटाइएको उहाँले बताउनुभयो।

सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर परिचालितहरुले मतदाता शिक्षा प्रदान गरिरहेका छन्।

वडा वडामा राखिएका १ सय २० मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, शिक्षकलाई स्वयंसेवक र मतदान शिक्षा कार्यकर्ताका रूपमा निर्वाचन कार्यालयले तालिम प्रदान गरी सामग्रीसहित खटाएको हो।

मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिनेछन्।

दर मतको प्रतिशतमा कमी ल्याउनका लागि परिचालित स्वयंसेवकलाई मतदातालाई सचेत गराउनमा बढी जोड दिइएको बताइएको छ। यसका साथै असार ११, १२ र १३ गते सम्बन्धित मतदानस्थलवाट मतदाता परिचयपत्र वितरण गरिनेसमेत जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। बैतडीमा १ लाख २४ हजार ८ सय २४ जना मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्