गाँउगाँउमा मतदाता शिक्षाका लागि स्वयंसेवक



नेपाल समाचारपत्र, बैतडी ।
असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः बैतडीमा मतदाता शिक्षाका लागि स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्ता गाउँगाँउमा परिचालन गरिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, बैतडीका अनुसार तालिम प्राप्त गरेका १७४ जना स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ ।

“चार नगरपालिका र छ गाउँपालिकाका ८४ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौँ” – जिल्ला निर्वाचन कार्यालय, बैतडीका प्रमुख माधव प्रसाद फुँयालले भन्नुभयो ।

मतदाता शिक्षाका लागि परिचालितहरुलाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामा खटाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर परिचालितहरुले मतदाता शिक्षा प्रदान गरिरहेका छन् ।
वडा वडामा राखिएका १२० मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, शिक्षकलाई स्वयंसेवक र मतदान शिक्षा कार्यकर्ताका रुपमा निर्वाचन कार्यालयले तालिम प्रदान गरी सामग्रीसहित खटाएको हो ।

मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने छन् ।
दर मतको प्रतिशतमा कमी ल्याउनका लागि परिचालित स्वयंसेवकलाई मतदातालाई सचेत गराउनमा बढी जोड दिइएको बताईएकोे छ ।

यसका साथै असार ११,१२ र १३ गते सम्वन्धित मतदानस्थलवाट मतदाता परिचयपत्र वितरण गरिने समेत जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
बैतडीमा १ लाख २४ हजार ८२४ जना मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्