विपक्षीले प्रमको उम्मेदवार नबनाउने



काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको निर्वाचनमा पार्टीबाट उम्मेदवारी नदिने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।

प्रधानमन्त्री निर्वाचनका लागि सभामुख ओनसरी घर्तीले तोकेको प्रक्रिया संसद्को स्थापित विधि विपरीत भएको भन्दै एमालेले प्रक्रियामा असहमति जनाएर पार्टीका तर्फबाट उम्मेदवार नदिने निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो।

एमालेले संसद्को स्थापित विधि बाहिरबाट प्रधानमन्त्रीको निर्वाचन गर्न लागिएकाले प्रक्रिया सच्याउन सभामुखको र संसद्को अवरोध खुलाउन सरकारसँग माग गरेको छ। एमालेले राष्ट्रपतिले प्रधानमन्त्री चयनका लागि संसद्लाई पठाएको पत्र संसद् बैठकमा प्रस्तुत नै नगरी र संसद्को अवरोध जारी रहेको अवस्थामा निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने निष्कर्ष निकालेको छ।

तर आज हुने भनिएको प्रधानमन्त्रीको निर्वाचनमा अवरोध कायम राख्ने कि विपक्षमा मतदान गर्ने भन्ने विषयमा भने आज मात्र निर्णय गर्ने भएको छ। एमाले संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले बैठक बस्नुअघि पार्टीले प्रधानमन्त्री निर्वाचन प्रक्रियाम भाग लिने कि संसद् अवरुद्ध गर्ने भन्ने टुंगो लगाउने बताउनुभयो। एमालेले संसदको अवरोध काममै राख्ने हो ? भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा नेम्वाङले भन्नुभयो, ‘निर्वाचनका लागि ११ बजे बैठक बोलाइएको छ, बिहान नै पार्टीले निर्णय गर्छ।’ एमालेले विपक्षी गठबन्धनमा आबद्ध दलहरूसँग पनि आज नै छलफल गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्