भद्रपुर कांग्रेसमा गनगन



उत्तम नेपाल, भद्रपुर

नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा उम्मेदवार छनोटमा बृहत् छलफल नगरी एकलौटी रुपमा उम्मेदवार उठाएको भन्दै नगरका क्रियाशील कार्यकर्ताले असन्तुष्ट हुँदै हस्ताक्षर अभियान चलाएका छन्।

भद्रपुरनगरमा रहेर वर्षौंदेखि पार्टीलाई अगाडि बढाएर सांसदसमेत भइसकेका तथा पार्टीको विभिन्न तहमा रहेर काम गर्दै आइरहेकालाई मेयरदेखि वडा सदस्यसम्म छनोट गर्दा पार्टीले आफूहरुसँग कुनै छलफल नै नगरी उम्मेदवार छनोट गरेको विषयलाई पुनर्विचार गरिनुपर्ने भन्दै हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर गर्नेमा पुर्व सांसद जितबहादुर पुरी, क्षेत्रीय प्रतिनिधि राजेन्द्र घिमिरे, केन्द्रीय सदस्य गोमा भट्टराई,३ नम्बर महाधिवेशन क्षेत्रीय सभापति राजेन्द्रकुमार सापकोटा ,मोहन सिं कार्की, रुद्र भुर्तेललगायत गरी १ सय ४ जनाले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा पठाएको पाइएको छ।

महाधिवेशन क्षेत्रीय सभापति सापकोटाले नगर क्षेत्रभित्र मेयर, उपमेयर र वडा अध्यक्षको उम्मेदवार छनोटमा कुनै बैठक, छलफलमा जानकारीसमेत नगराई एकलौटी तवरमा गरिएको निर्णयले पार्टीलाई असर पर्ने भन्दै जेठ ११ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।

उम्मेदवार छनोटमा बैठकबाट छलफल गराई जातीयता, क्षेत्रीयता योग्यता, अनुभव आदिको आधारबाट सबैलाई समेटी पुनः उम्मेदवार छनोट गरियोस् भनी निवेदनमा उल्लेख गरिएको छ। उनीहरुले हस्ताक्षर अभियान जारी राखेको जनाएका छन्। उम्मेदवार छनोट प्रक्रियागत नभएकाले सच्याउन जरुरी रहेको क्षेत्रीय प्रतिनिधि घिमिरेले बताए।

कांग्रेसले चुनाव जित्नै पर्ने भएकाले तल्लो तहमा छलफल नभई उम्मेदवार छनोट भएमा पार्टीलाई घाटा हुने घिमिरेको भनाइ छ। पार्टीमा कुनै पनि छलफल नहुने हो भने विभिन्न समिति खोलेर त्यसको मोहोरा नबनाउन उनले सुझाव दिए। बीपीको सिद्धान्तलाई आधार मानेर कमीकमजोरी हुनसक्ने भएकाले तल्लो तहसम्म गएर सम्बन्धित व्यक्तिलाई राखेर छनोट गरिनुपर्नेमा सोअनुसार नभएकाले हस्ताक्षर अभियान गरिएको उनको भनाइ छ। पार्टीको विरोध नभई यसलाई सही तरिकामा ल्याउन गरिएको अभियान भएको उनले बताए।
आफ्नो वडामा उम्मेदवार छनोट हुँदासमेत जानकारी नपाउनुमा दुःख लागेको उनले सुनाए। भद्रपुर नगरपालिकामा मेयरमा गणेश पोखरेल र उपमेयरमा तारा भुर्तेल सार्वजानिक भइसकेका छन् भने अन्यको भित्रभित्रै छनोट गरिसकेको एक कार्यकर्ताले जनाएका छन्। ३ नम्बर क्षेत्र नेता कृष्णप्रसाद सिटौलाको भएकाले सिटौलाका झोलेहरलाई मात्र टिकट दिएको कार्यकर्ताको आरोप छ।

प्रतिक्रिया दिनुहोस्