चुनावबारे डोटीका जनता भन्छन्– “सार्नु ठीकै हो, तर गरिएन भने छोड्नेवाला छैनौं”



विमल विष्ट, डोटी

सुदूरपश्चिमको ७ नम्बर प्रदेशसहित देशका अन्य क्षेत्रमा यही जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको चुनाव सरकारले आगामी असार १४ गतेका लागि सारेपछि यहाँका स्थानीयमा चुनाव हुने वा नहुने भन्ने विषयमा चिन्ता थपिएको छ। चुनाव असार १४ गते हुनसक्ने वा नहुने भन्ने विषयमा यहाँका गाउँ–घरमा अहिले निकै चर्चा तथा परिचर्चा शुरु हुन थालेको स्थानीयबासी बताउँछन्। वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको चुनाव जेठ ३१ गते हुने भनी सारिएसँगै निराश भएका यहाँका मतदाताहरु जेठ ३१ गतेको चुनाव पनि सारिएपछि झनै निराश भएको दीपायल सिलगढी नगरपालिका–२ का स्थानीय चक्रसिंह कठायतले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘असारको समयमा किसान खेतीपातीमा व्यस्त हुन्छन्, किसानले आफ्नो खेतीपातीको काम गर्नु कि चुनावमा भाग लिनु जनतालाई निकै सास्ती हुने भयो।’ सरकारले खेतीपातीको समयमै दोस्रो चरणको चुनावको मिति सारेकाले अपेक्षा गरेअनुसार मत खस्न नसक्नेमा कतिपय विश्लेषकको बुझाई रहेको छ। यतिमात्र नभई ७ नम्बर प्रदेशसहित देशका विभिन्न क्षेत्रमा जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको चुनाव सार्ने सरकारको निर्णय प्रति यहाँका स्थानीयबासी आक्रोशितसमेत भएका छन्। सरकारले चुनाव सार्ने निर्णय गरेपछि लामो समयपछि चुनावमा भोट हाल्न घर आएका डोटेली झनै निराश भएका छन्। उनीहरु भोट नै नहाली भारत फर्किने कि यतै बस्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा गाउँमा झनै अन्योलमा परेका छन्।

उता नेपाली कांग्रेसका नेता तथा दीपायल सिलगढी नगरपालिका–४ का वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र शाहले सरकारले चुनाव सार्दा जनतामा नकारात्मक असर परेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘पटक–पटक चुनाव सार्नु भनेको राम्रो कुरो होइन, जनतामा केही नकारात्मक असर त पर्छ तर शान्तिपूर्ण र भयरहित चुनाव हुन्छ भने एकपटक सारेमा केही फरक पर्दैन।’ त्यस्तै नेकपा माओवादी केन्द्रका डोटी जिल्ला अध्यक्ष त्रिलोचन भट्टले चुनाव सरेकोमा प्रविधिकरूपमा निकै कठिनाई तथा समस्या उत्पन्न भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘असार ९ गतेको समय भनेको किसानको खेतीपाती तथा अन्यकामको समय भएकाले चुनाव त्यसैबेला सार्नु भनेको प्रविधिकरूपमा निकै चुनौतीको विषय हो तर चुनाव सारेकोमा समग्र राष्ट्रले नै निकास आउने हो भने खासै असर नपर्ला कि।’ दीपायल पिपल्लास्थित एक जना स्थानीय व्यापारी गणेशबहादुर साउँदले जेठ ३१ गतेको चुनाव असार ९ गते सरेकोमा खासै असर नपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चुनाव सार्दा दलहरुको सहमति हुन्छ र सदैवलले भाग लिन्छन् भने सारेकोमा घाटा छैन तर चुनाव सार्ने नाममा निर्वाचन नै नहुने हो भने त्यो गम्भीर विषय हो।’ जिल्लामा राजनैतिक चहलपहल तथा चुनावी कार्यक्रमले तीव्रता पाएसँगै फेरि एकाएक चुनाव सरेको खबरले जनता निराश भएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी डोटीका उपाध्यक्ष टेकबहादुर रावलले चुनाव सरेको कुरो ठूलो महत्त्वपूर्ण नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘शान्तिपूर्ण तथा भयरहित वातातवरणमा जनताले आफ्ना प्रतिनिधि चुन्न पाउँछन् भने चुनाव सर्नु ठूलो कुरो होइन, नाटक गरिएको हो भने जनताले छोड्नेवाला छैनन्।’

हार्ने डरले चुनाव सारिँदै

डोटी, (नेस)। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वरक्षा तथा गृहमन्त्री भीम रावलले स्थानीय तहको निर्वाचनमा पराजित हुने डरले सरकारले चुनाव सारिरहेको आरोप लगाउनुभएको छ।

नेकपा एमाले, डोटीद्वारा क्षेत्रीय सदरमुकाम दीपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता रावलले सरकारमा सहभागी कांग्रेस तथा माओवादी केन्द्रले दोस्रो चरणको चुनावमा आफूहरू पराजित हुने निश्चित भएकाले विभिन्न बहानामा चुनाव सार्ने गरेको बताउनुभयो।

सरकारमा सहभागी कांग्रेस तथा माओवादी केन्द्रको मिलेमतोमा चुनाव सार्ने काम भएको आरोप लगाउँदै नेता रावलले भन्नुभयो– ‘चुनाव सार्नेको विरोधमा सिंगो एमाले पार्टी तथा नेपाली जनताले उत्रिनुपर्ने बेला भएको छ, जनताले आफनो प्रतिनिधि चुन्छु भन्दा किन चुन्न नदिने ?’

सभालाई सम्बोधन गर्दै नेता रावलले सुदूरपश्चिमेली जनताले आफ्नो इच्छाअनुसारको जनप्रतिनिधि चुन्न अब केही दिनमात्रै बाँकी रहेकाले स्थानीय तहको निर्वाचनमा सबैले भाग लिनसमेत सबैमा आग्रह गर्नुभयो।

चुनावमा सक्रिय भएर लाग्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिँदै रावलले भन्नुभयो– ‘जनताको हक–अधिकारको सुनिश्चित गर्ने प्रतिनिधिलाई तपाईं आफैं छान्नुहोस्, बाँकी एमालेले हेर्छ।’ आगामी निर्वाचन चाँडै तथा शान्तिपूर्णरूपमा हुनुपर्ने र जनताले आफूले चाहेको प्रतिनिधिलाई निर्भयका साथ मतदान गर्न पाउने वातावरण सरकारले बनाउनुपर्ने नेता रावलको भनाइ थियो।
‘हामी शान्तिपूर्ण चुनावको पक्षमा छौं, हामीलाई जनताको अभिमत स्वीकार्य छ, जनभावनामा खेलवाड नगरियोस्’, नेता रावलले भन्नुभयो– ‘जन चाहनामा खेलवाड भए सहिने छैन।’

कार्यक्रममा अर्का एमाले नेता तथा केन्द्रीय वैकल्पिक सदस्य एवं सांसद प्रेमबहादुर आलेमगरले जिल्लाको विकासका लागि एमालेसँग मात्रै वैज्ञानिक योजना रहेको दाबी गर्नुभयो। कोसँग भिजन छ र कसले जनताको पीर–मर्का बुझेर जनताको विकास गर्छ भन्ने कुरा डोटेली जनताले बुझी र चिनिसकेको बताउँदै सांसद आलेमगरले भन्नुभयो– ‘एमाले चर्का नारा मात्रै लाउँदैन काम पनि गर्छ भन्ने कुरा हामीले गरेको कामबाट जनताले बुझिसकेका छन्, एमालेले अबको नेपाल शान्ति र समृद्धिको नेपाल भएको देख्न चाहेको छ।’

त्यस्तै, सोही कार्यक्रममा बोल्दै एमाले महिला नेतृ तथा सांसद गौरी ओलीले देश तथा जनताको विकास गर्ने हो भने स्थानीय तहको चुनाव सम्पन्न हुनु जरुरी भएकाले कुनै पनि बहानामा चुनाव सार्न नहुने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चुनावमा पराजित भइन्छ कि भनेर सार्ने खेल खेल्नु भनेको केटाकेटीपन भएकाले सबै दलहरू मिलेर दोस्रो चरणको चुनाव सम्पन्न गराउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्