एजेन्डाः प्राविधिक शिक्षा र व्यवसायिक कृषि



यमलाल भुसाल, बुटवल

नेपाली कांग्रेसका बुटवलका वडा अध्यक्षका उम्मेदवारहरुले स्वरोजगारमूलक प्राविधिक शिक्षालाई प्राथमिकता दिएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहँदा मुलुकमा जनशक्ति अभाव भएकाले उनीहरुलाई रोक्न र विकासमा लगाउनका लागि युवा लक्षित स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्। नेपाली कांग्रेस रूपन्देहीको प्रचारप्रसार समन्वय उपसमितिले बुटवलमा गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बुटवल १३ का अध्यक्षका उम्मेदवार नारायणप्रसाद पुनले त्यसबाहेक वडालाई धूलोरहित वडा बनाउने प्रतिबद्धता व्यक्त गरे।

उनले शिक्षा, स्वास्थ्य र खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै गुणस्तरीय प्राविधिक शिक्षामा आफू प्रतिबद्ध रहेको जनाए। उनले वडा नं. १३ मा रहेको जवई खेल मैदानलाई स्टेडियम बनाउने तथा वडामा रहेका अरू खेल मैदानलाई स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे। वडाको विकासमा नेपाली कांग्रेसले अहिलेसम्म नेतृत्वदायी भूमिका खेल्दै आएको दाबी गर्दै उनले आफूले अझै उचाइमा पुर्याउने बताए।

त्यस्तै, वडा नं. ७ का उम्मेदवार पदमराज गाहाले आफ्नो वडामा ठूला र केन्द्रीय नेताहरु भएर पनि ओझेलमा परेको बताउँदै आफूले खानेपानी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताए। उनले ढल निकास, अव्यवस्थित हाटबजार, अस्पताल, हिलपार्कलगायतलाई व्यवस्थित गरी स्वच्छ र सफा शहर बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले आफ्नो व्यक्तिगत खर्चबाट वडामा वार्षिक ५० जना गरिब तथा निम्नस्तरका बालबालिकालाई निःशुल्क अध्यापन गराउने पनि प्रतिबद्धता व्यक्त गरे। युवालाई रोजगारीका कार्यक्रम सञ्चालन गर्ने र युवा विदेश पलायन हुने प्रवृत्तिलाई रोक्ने उनको भनाइ थियो। त्यसै गरी वडा नं. २ का उम्मेदवार वीरबहादुर लामाले खोलालाई सरसफाइ गर्ने र स्वच्छ बनाउने तथा खोला कटानको समस्या रोक्नका लागि तटबन्धका कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गरी जनताको धन–सम्पत्तिको संरक्षण गर्ने प्रतिबद्धता गरे।

बुटवल नगरपालिकामा भर्खरै मात्रै जोडिएको वडा नं. १४ का अध्यक्षका उम्मेदवार लीलबहादुर थापाले विकास शून्य अवस्थामा रहेकाले विकासको विजारोपण गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्