चुनाव केन्द्रित अनेक छन् चर्चा



कुमार श्रेष्ठ, बाँके

टिकट बाँड्ने अधिकार पाएका कांग्रेसका क्षेत्रीय सभापतिहरु ‘सम्पर्कविहीन’ भए। एमालेमा नेपालगन्ज र कोहलपुरको केही वडामा उम्मेदवार छनौटप्रति असन्तुष्टि बढ्यो। उम्मेदवार टुंगिएकाहरुले भने घरदैलोलाई तीव्रता दिए।

चुनावको विरोध गरिरहेको राजपाले निर्वाचन कार्यालयमा धर्ना दियो। रमजानको बीचमा सरकारले चुनावको मिति घोषणा गरेको भन्दै मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए।

नजिकिँदो चुनावमा आपराधिक गतिविधि हुन सक्ने भन्दै जमुनाह नाकामा प्रहरीले तालिम प्राप्त कुकुरसहित जाँच थाल्यो। यी सबै गतिविधि र चर्चा गएको मंगलबारका हुन्।

क्षेत्रीय सभापतिको सनक र राम्रालाई भन्दा हाम्रालाई चेप्ने प्रवृत्तिले कांग्रेसको उम्मेदवार टुंगिन सकेको छैन। १, ३ र ४ नम्बरका क्षेत्रीय सभापतिले स्थानीय बहुसंख्यकको भावनाविपरीत उम्मेदवार छनौट गर्नका लागि माइन्युट नै बोकेर हिँडेको र आफू निकटसँग रुमल्लिएको नेताहरु बताउँछन्। पार्टीले टिकट बाँड्ने अधिकार क्षेत्रीय सभापतिलाई दिएपछि उनीहरु तानाशाह बनेको भन्दै कार्यकर्ताहरुले चरम असन्तुष्टि पोखेका छन्।

क्षेत्र नं. १ का सभापति माधवराम खत्री बैठक चलिरहँदा नै माइन्युट बोकेर बेपत्ता भएका छन्। क्षेत्र नं. ३ का सभापति रमेश गुप्ता र ४ का नखी खाँले पनि सबैलाई समेटेर उम्मेदवार छनौट गर्न सकेका छैनन्।

सबै पार्टीले उम्मेदवार छनौट गरेर पार्टीगत र व्यक्तिगतरूपमा मत माग्न दौडिरहँदा कांग्रेसका सम्भावित उम्मेदवारहरु अलमलमा परेका छन्। यद्यपि, सम्भावित उम्मेदवारहरुले घरदैलो अभियानलाई जारी राखेका छन्। अन्यायमा परेकाहरुले पार्टी कार्यालयमा उजुरी दिएका छन्।

नेकपा एमालेमा कोहलपुरको तीन वटा र नेपालगन्जको चार वटा वडाको उम्मेदवार छनौटप्रति असन्तुष्टि बाहिर आएको छ। उम्मेदवारको आश्वासन पाएर प्रचारप्रसारमा खटिइसकेकाहरुलाई अन्तिममा परिवर्तन गरिएको नेताहरुले बताएका छन्।

यी वडाको उम्मेदवार छनौटमा पदाधिकारी र नगरका केही अगुवाको गम्भीर असन्तुष्टि रहेको स्रोतले बताएको छ। असन्तुष्टहरुले पार्टी नेतृत्वविरुद्ध दबाब बढाएका छन्। एमालेको नेपालगन्ञ्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका र ६ वटा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा भने विवाद छैन। उम्मेदवारको टुंगो लागेका एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, एराप्रपा र राष्ट्रिय जनमोर्चाले चुनावी गतिविधिलाई बढावा दिइरहेका छन्। मंगलबार पनि यी सबै पार्टीका उम्मेदवार, सम्भावित उम्मेदवारहरुले घरदैलो र भेटघाट गरेका छन्।

चुनावमा सहभागी नहुने भन्दै आन्दोलनको कार्यक्रम बाहिर ल्याएको राजपाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन्। अपराह्न साढे ३ बजेदेखि राजपाका नेता तथा कार्यकर्ताहरु धर्नामा बसेका छन्। यो राजपाको देशव्यापी कार्यक्रम हो।

यता, सीमामा अपराधिक गतिविधि रोक्न तालिम प्राप्त कुकुरसहित जाँच थालिएको छ। खुला सीमानालाई निर्वाचनको प्रमुख चुनौती मानेका अधिकारीहरुले नाकामा चेकजाँच कडाई गरिरहेका छन्। दुई वटा तालिम प्राप्त कुकुरले भारतबाट नेपाल आउने यात्रुको जाँच गरिएको छ। इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काले नाकाबाट कुनै आपराधिक गतिविधि हुन नदिन कडाइका साथ अघि बढेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्