राष्ट्रिय व्यापार मेला कात्तिकमा


हेटौंडा,(नेस) ।
मकवानपुर उद्योग वाणिज्य संघले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्ष कात्तिक ८ देखि १९ गतेसम्म हेटौंडामा गर्ने निर्णय गरेको छ ।

संघ अध्यक्ष तथा केन्द्रीय सदस्य राजकुमार न्यौपानेको सभाध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । उद्योग व्यवसायलाई बढी प्रवद्र्धन तथा विकासका लागि संघले मेलाको गर्दै आएको छ ।

व्यापार मेलामा राष्ट्रियस्तरका उत्पादन, कृषि, पर्यटन, कला सँस्कृतिलगायत ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिका साथै रचनात्मक कार्यक्रमहरु समावेश रहने संघ अध्यक्ष न्यौपानेले बताउनुभयो ।

संघको हालै संशोधित विधानबमोजिम रिक्त रहेको एसोसिएटतर्फको सचिवमा संघका कार्यसमिति सदस्य उज्ज्वल चौलागाईंलाई मनोनित गरिएको छ । चौंलागाईं सञ्चारउद्यमी हुन् । बैठकले संघको ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन पुस २८, २९ र ३० गते गर्ने निर्णय गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको आर्थिक, सामाजिक, सा“स्कृतिक, कृषि तथा पर्यटकीय विकासका लागि २ वर्षमा आयोजना हुँदै आएको राष्ट्रियस्तरको औद्योगिक ब्यापार मेला फागुन २० देखि सुरु हुने भएको छ । मेला ३० गतेसम्म चल्नेछ ।

संघको आयोजनमा विगतमा भएका मेलाहरुमा सक्रिय भूमिका निर्वाह गरेका सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई समेट्दै र सक्रिय देखिएका अन्य संघसंस्थाहरु समेत रहने गरी मेलाका लागि मूल समिति गठन गरिने संघ अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यस पटकको मेला वास्तविकढंगले औद्योगिक व्यापार मेला हुने भन्दै अध्यक्ष न्यौपानेले स्थानीय पर्यटन प्रवद्र्धन गर्न विभिन्न योजना ल्याइने बताउनुभयो । मेला विगतको निरन्तरता जस्तो मात्र नभएर सन्देशमूलक हुने र कृषिजन्य उत्पादनलाई मेलामा उच्च स्थान दिइने उहाँले जानकारी दिनुभयो ।

मेलामा विभिन्न उद्योग, व्यवसाय, कृषि र पर्यटनलगायत करिब ४ सय ५० स्टल रहनेछन् ।