चाँगुनारायणमा एमाले



पुष्कर बुढाथोकी

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले ८ हजार ५ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत प्राप्त गर्नुभएको थियो। नवनिर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले नगरपालिकामा काम गर्ने र यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता जनाउनुभएको छ।

यस्तै उपप्रमुखमा एमालेकै बिना बास्तोला ८ हजार ७ सय ८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राधा (सरू) बानियाँले ६ हजार ४ सय ७६ मत गर्नुभएको थियो। राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले ५ हजार १ सय ९८, उपप्रमुखकी उम्मेदवार युवती कार्कीले ४ हजार ५ सय ४५ र नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहनुभएका न्हुच्छे फोजुले ४ हजार ४ सय ४२ मत तथा उपप्रमुखमा रीता काफ्लेले ४ हजार २२ मत प्राप्त गर्नुभएको थियो। अन्य दलले भने १ हजार मत पनि पुर्याउन सकेनन्। कुल ३४ हजार ४ सय ४८ मतदाता रहेको सो नगरपालिकामा २८ हजार ९१ मत खसेको थियो।

चाँगुनारायण नगरपालिकामा वडा नं १, २, ५ र ७ मा नेपाली कांग्रेसको समूह विजयी भएको छ भने वडा नं. ३, ४, ६, र ८ मा एमालेको समूह विजयी भएको छ। वडा नं. ५ र ७ मा एक–एक सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन्।

चाँगुनारायण नगरपालिका–९ मा भने नेपाल मजदुर किसान पार्टीको समूह विजयी भएको छ। वडा अध्यक्षमा १ हजार ५१ मत प्राप्त गरी गणेश त्यात विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवास ढुंगानाले ९ सय ९५ मत प्राप्त गर्नुभएको छ।

त्यसै गरी, महिला सदस्यमा नेमकिपाकै कमला गिरी (भारती) ले १ हजार ५२ मत, दलित महिला सदस्य सुमित्रा दर्जीले १ हजार ४४ मत, सदस्य विद्यापति थापाले ९ सय ८३ मत र कृष्णराम वासुकलाले १ हजार ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ। पहिलो चरणको निर्वाचनमा मतगणना हुन बाँकी अब भरतपुर महानगरपालिका मात्रै रहेको छ।

प्रतिक्रिया दिनुहोस्