भरतपुर महानगरमा लफडा



मतपत्र च्यातिएपछि छानविन समिति,
गणना भोलि बुधबारसम्मका लागि स्थगित
प्रशान्त वली

चितवनको भरतपुर महानगरपालिकाको ४ हजार ४ सय १३ मत मात्रै गन्न बाँकी रहँदा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले मतगणना स्थगित गरी छानविन समिति गठन गरेको छ। निर्वाचन आयोगले सहमहान्यायाधीवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन गरेको छ। समितिका सदस्यहरूमा प्रहरी नायव महानिरीक्षक केदारमान सिंह भण्डारी र गृह मन्त्रालयका सहसचिव महेश आचार्य
रहनुभएको छ।

समितिले आयोगमा आएको प्रतिवेदनका आधारमा भोलि बुधबारसम्म अध्ययन गरी मतगणना स्थलमा भएको घटनाको अनुगमनमार्फत् प्रतिवेदन आयोगलाई बुझाउनेछ। यो समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले निर्णय लिने र त्यसबेलासम्म मतगणना रोकिने बताइएको छ।

हिजो सोमबार बसेको निर्वाचन आयोगको वैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको हो। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘छानविन समिति सोमबार नै भरतपुर जान्छ र छानविन गरेर प्रतिवेदन हामीलाई बुझाउनेछ।’

भरतपुर महानगरपालिका प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने बाथरुम गएको समयमा हुलहाल भएर मतपत्र च्यातिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको जनाउनुभएको छ। मतपत्र च्यातिएपछि आयोगले त्यहाँको स्थितिलाई प्रारम्भिक प्रतिवेदनको रूपमा तयार गरी निर्वाचन आयोगलाई प्रतिवेदन पठाइसकेको प्रमुख निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो। भरतपुर महानगरपालिकाको वडा नम्बर २० को ३ हजार ३ सय १८ र वडा नम्बर १९ को १ हजार ९५ मत मात्रै गन्न बाँकी रहेको थियो।
मतपत्र च्यातेको अभियोगमा दुई जनालाई पक्राउ गरिएकोे चितवन प्रहरीले बताएको छ। पक्राउ पर्नेहरूमा एजेन्टका रूपमा बसेका मधु न्यौपाने र द्रोण सिवाकोटी रहेको चितवन प्रहरी प्रमुख दीपक थापाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। चितवन प्रहरी प्रमुख थापाले भन्नुभयो– ‘अहिले चितवनको अवस्था शान्तिपूर्ण छ। मतपत्र र मतगणना स्थललाई शिल गरेर राखेका छौं। बाहिर पार्टीका प्रतिनिधिहरू बस्नुभएको छ। पूर्णरूपमा सुरक्षा दिलाउन तल्लीन भएका छौं।’ माओवादी र एमालेबीचमा एक–अर्कालाई मतपत्र च्यातेको आरोप शुरुमा लगाइए पनि अन्तिममा भने माओवादीले मतपत्रको सुरक्षा गर्न खोज्दा च्यातिएको बताएको छ।

निर्वाचन आयोगले वास्तकिता हेरेर निर्णयमा पुगिने बताएको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चितवन घटनाको प्रतिवेदन आइसकेकाले आयोगले यस विषयमा छलफल गरेर यथासक्य चाँडो निर्णय गर्ने बताउनुभयो। नेकपा एमालेले मतपत्र च्यातिएको विरोधमा मतगणनास्थल नजिकै विरोध प्रदर्शन गरेको थियो। मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाउनुभएको छ।

नेकपा माओवादी केन्द्र चितवनले विज्ञप्ति निकालेर भरतपुर महानगरपालिकामा मतगणना भइरहेको समयमा मतगणनास्थलमा एमाले कार्यकर्ताका कारण मतपत्र च्यातिएको भन्दै घटनाको भत्र्सना गरेको छ। माओवादीका चितवन इन्चार्ज ईश्वरी भट्टराईले हस्ताक्षर गरेको वक्तव्यमा मेयरकी उम्मेदवार दाहाल जिततर्फ उन्मुख भइरहेका बेला एमालेका प्रतिनिधिले मतगणना स्थलमा मतपत्र च्यात्न खोजेपछि आफ्ना प्रतिनिधिले त्यसको रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको विज्ञप्तिमा उल्लेख छ।

मेयर पदकै प्रत्यासी नेकपा माओवादी केन्द्रका रेणु दाहाललाई नेपाल समाचारपत्रले टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। मतगणनाको क्रममा मतपत्र अनधिकृत तबरले कब्जा भएको ठहरिएमा मतदान रद्ध गरिएको मतदान केन्द्रमा पुनः मतगणना गरिने कानुनी व्यवस्था छ।

परिणाम आउन अब भरतपुर महानगरपालिका र चाँगुनारायण नगरपालिका भक्तपुरको परिणाम आउन बाँकी छ। चाँगुनारायणमा पहिलाको मतदान विवादमा आएपछि पुनः मतदान गरिएकोमा मतगणना जारी रहेको छ।
यही विवादकै सेरोफेरोमा रहेर मेयर पदका लागि एमालेका उम्मेदवार देवी ज्ञवालीसँग नेपाल समाचारपत्रले फोनमा कुराकानी गरेको थियो। प्रस्तुत छ, कुराकानी जस्ताको त्यस्तै ः

देवी ज्ञवाली
मेयरका उम्मेदवार एमाले

‘हरुवा मानसिकताको उपज’

मतगणना त स्थगित भयो नि ?
हो, स्थगित भएको छ। घाँटी दुखेर बोल्न गाह्रो भएको छ। हार्ने स्थिति भएपछि केही तŒवले मतपत्र च्यातेका होलान्। मतपत्र च्यात्नु हरुवा मानसिकताको उपज हो। छिटोभन्दा छिटो मतगणना हुनुपर्छ। करिब ५० वटा मतपत्र च्यातिएको कुरा बाहिर आएको छ। प्रक्रिया पूरा गरेर मतगणना थालनी गर्नुपर्छ। आम मतदाता नतिजा सुन्न आतुर छन्।

तपाईं जित्नेमा ढुक्क हुनुहुन्छ ?
राम्रै मत ल्याएर जित्छु। यसमा कुनै शंका छैन। आफू मतगणना शुरू भएदेखि अहिलेसम्म अग्र स्थानमा रहेको मतपरिणामले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्