काठमाडौं महानगर मेयरमा एमाले, उपमेयरमा कांग्रेस



काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको जित निश्चित भएको छ। यो समाचार तयार पार्दासम्म शनिबार राति उहाँ ६६ हजार ४४ मतका साथ अग्रस्थानमा हुनुहुन्थ्यो। उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार १ सय २३ मत प्राप्त गर्नुभएको छ। शाक्य र जोशीको मतअन्तर २१ हजारभन्दा बढी रहेको छ। यो समाचार तयार पार्दै गर्दा १४ र १६ नम्बर वडाको मतगणना भइरहेको थियो। काठमाडौं उपत्यकाका अन्य सबै वडामा मतगणना सम्पन्न भइसकेको छ।

तेस्रो स्थानमा रहनुभएका रञ्जु दर्शनाले २३ हजार २ सय मत प्राप्त गर्नुभएको छ। चौथो स्थानमा रहनुभएका साझा पार्टीका किशोर थापाले १८ हजार ९ सय ३ मत प्राप्त गर्नुभएको छ। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ८ हजार ३२ मत ल्याउनुभएको छ।

यसै गरी काठमाडौं महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठको जित सुनिश्चित भएको छ। उहाँ ५७ हजार २५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। उहाँका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले यो समाचार तयार पार्दासम्म ३४ हजार २ सय ३० मत प्राप्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्