उम्मेदवार छान्न महाभारत



विनोदसिंह विष्ट,बैतडी

नेपाली कांग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकांक्षीहरूको नामावली केन्द्रमा पठाएको छ। बैतडीका १० वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएकाले उम्मेदवारको टुंगो लगाउन केन्द्रीय कार्यसमितिमा नामावली पठाइएको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘एक दुई दिनभित्रै उम्मेदवारको टुंगो लागेर आउँछ।’ नेपाली कांग्रेस बैतडीले सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक अरू कुनै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

८४ वटा वडामा भने सबै उम्मेदवारको टुंगो लागेको कोषाध्यक्ष पाण्डेयले बताउनुभयो। सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा मेयरका लागि १४ जना आकांक्षी देखिएका छन्। दशरथचन्द नगरपालिकामा मेयरका जिल्ला सभापति नरेन्द्रसिंह थापा, हर्कबहादुर चन्द, शिवराज भट्ट, प्रताप ठगुन्ना, जनकराज भट्ट, पुरनचन्द्र लेखक, भीमबहादुर चन्द, देवु ठगुन्ना, यज्ञराज पन्त, लालबहादुर चन्द, दौलतसिंह थापा, टेकराज जोशी र भीमदत्त पाण्डेयको नाम सिफारिस गरिएको छ।

यसै गरी उपमेयरमा मीना चन्द, तुलसी ठगुन्ना र हरिप्रिया भट्टको नाम सिफारिस गरिएको छ। यस्तै मेलौली नगरपालिकामा मेयर पदका लागि शेरबहादुर चन्द, प्रेमबहादुर चन्द (आगर), प्रेम बहादुर चन्द (सम्राट्), श्रवण ठगुन्ना, गम्भीरबहादुर चन्द, तारादत्त भट्ट, कृष्णसिंह नायक, महेशदत्त भट्ट, जनकराज भट्ट, ईश्वरदत्त भट्टको नाम सिफारिस गरिएको छ। यस्तै उपमेयरमा सरस्वती चन्द, पार्वती चन्द, मञ्जु विष्ट, लक्ष्मी भट्ट र राधा ओझाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो।

यस्तै पाटन नगरपालिकाको मेयरका लागि पूर्वसहायकमन्त्रीसमेत रहनुभएका केशव चन्द र नरेन्द्रसिंह विष्टको नाम सिफारिस गरिएको छ भने उपमेयरमा सरस्वती कोली, सरस्वती जोशी र जानकी भट्टको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको छ। यसै गरी जिल्लाको पुरचौडी नगरपालिकामा पनि उम्मेदवार छनोट गर्न नसकेपछि कांग्रेसले सो नगरपालिकाबाट पनि मेयर पदका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। मेयरका लागि दीपकबहादुर बम, लालबहादुर बम, मोहनबहादुर कुँवर, दलबहादुर विष्ट र प्रोहित बडुको नाम सिफारिस गरिएको जिल्ला सचिव विष्टले जानकारी दिनुभयो।

यस्तै उपमेयरमा भने मीना धानुक, शोभाकुमारी धानुक र उत्तरा नेपालको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो। यस्तै सिगास गाउँपालिकामा अध्यक्ष पदका लागि खगेन्द्रसिंह धामी, हरिसिंह धामी र केदारनाथ अवस्थी आकांक्षी देखिएपछि तीनै जनाको नाम सिफारिस गरिएको छ।

यस्तै उपाध्यक्ष पदका लागि द्रोपती चन्द, सुमित्रा ऐर र तुलसी साउदको नाम सिफारिस गरिएको छ। यस्तै, दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका लागि चन्द्रसिंह भाट, देवराज जोशी, गोपालसिंह कार्की, हेमराज जोशी, शिवराज भट्ट, घनश्याम भट्ट, डम्मर ठगुन्ना र पृतबहादुर विष्टको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।
उपाध्यक्ष पदका लागि विष्ना जोशी र धनमाया ठगुन्नाको नाम सिफारिस गरिएको छ।

यसअघि उम्मेदवारमा सहमति भइसकेको भनिएको डिलासैनी गाउँपालिकामा पनि अन्तिममा आएर विवाद भएपछि अध्यक्ष पदका लागि कर्णबहादुर राना र धनबहादुर विष्टको नाम सिफारिस गरिएको छ। केन्द्रमा सिफारिस गरिएका नाममध्ये एकदुई दिनमै उम्मेदवारको टुंगो लाग्ने नेपाली कांग्रेस बैतडीले जनाएको छ।

नेताहरू पदका लागि धेरै आकांक्षी देखिएपछि कार्यकर्ता भने निराश देखिएका छन्। अन्य पार्टीहरूले उम्मेदवारको छनोट गरी प्रचारप्रसारमा तल्लीन भएका बेला कांग्रेसले उम्मेदवार नै छनोट गर्न नसक्दा कार्यकर्ता निराश बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्