जनप्रतिनिधिका प्रतिबद्धता, “टोलका समस्या समाधानमै ध्यान दिन्छौं”



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे
भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले अहिले शपथसँगै पदभारको ग्रहणसमेत गर्न थालिसकेका छन्। उनीहरूले नागरिकका लागि गर्नुपर्ने काम धेरै छन्। जसमध्ये के कामबाट आफ्नो जिम्मेवारी शुरू गर्लान् त भनेर नागरिकलाई चासो हुनु स्वाभाविक नै हो।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० का वडाअध्यक्ष विष्णुमणि नेपाल आफ्नो वडामा जहाँ अहिलेसम्म विकासको सामान्य पहुँच नपुगेको र त्यहाँबाट आफूले काम शुरू गर्ने बताउँछन्। १५ वर्षदेखि जनप्रतिनिधिविहीन गाउँहरू सरकारी कर्मचारीको भरमै चल्दै आएका थिए।

कतिपय ठाउँमा कर्मचारीहरूले नै अनियमितता गरेको र गाउँको विकास हुन नसकेको अवस्थामा अहिले चुनिएका जनप्रतिनिधिको काँधमा थुप्रै जिम्मेवारी आएका छन्। ‘विगतका अनियमितता अब दोहोरिने छैनन्’, नेपाल भन्छन्– ‘पछि परेको आफ्नो गाउँलाई कसरी विकास गर्ने भन्ने नै मेरो पहिलो काम हुनेछ।’ आफ्नो पदभार ग्रहण गर्दै उनले अब नागरिकले कुनै पनि समस्याका लागि केन्द्र धाउनुनपर्ने समेत बताए। अहिले निर्वाचित जनप्रतिनिधिले नागरिकका लागि केन्द्रबाट दिइने सुविधा स्थानीय स्तरमै दिलाउन सक्ने अधिकार छ। त्यसैले पनि नागरिकहरू ढुक्क भएका छन्।

यतिखेर गाउँका सडकहरू बिग्रिएका छन्। धाराहरूमा पानी छैन, सिँचाइ अभावले कृषकहरूले समयमा खेतीपाती लगाउन सक्ने अवस्था छैन। बिजुलीका पोलहरू ढलेका छन्। भूकम्पले हरेक संरचनाहरू ध्वस्त भएको अवस्था छ।

नागरिकहरू अझै टहरामै दैनिकी गुजार्दै छन्। विद्यालय भवनहरू भत्किएका छन्। गाउँमा भएका बिरामीहरूले सामान्य औषधिसमेत खान पाएका छैनन्। यो अवस्थामा निर्वाचित प्रतिनिधिले काम गर्न सजिलो त पक्कै छैन। तर पनि नआत्तिईकन क्रमैसँग यी समस्या समाधानतिर लाग्ने उनीहरूको प्रतिबद्धता छ।

कुनै पनि सानो कामका लागि यसअघि नागरिकले धेरै समस्या झेल्नुपर्ने अवस्था थियो भने समयमा काम पनि नभएपछि दिक्क हुनुपरेको धेरैले भोगेका थिए। अब भने यस्ता समस्या गाउँबाटै समाधान हुनेछन्। पदभार सम्हालेसँगै निर्वाचित प्रतिनिधिहरू अहिले आफ्नो वडाबासीका समस्या सुन्न टोलटोलमा पुगेका छन्।

नागरिकले पनि आफ्ना समस्या खुलेरै राखिरहेको पाइएको छ। स्थानीयबासी शंकर बजगाईं भन्छन्– ‘अबको ५ वर्षमा हामीले आफ्नो ठाउँको मुहार फेरिएको हेर्न पाऊँ।’ यसका लागि जनप्रतिनिधिहरूले मात्र केही गर्न नसक्ने र सबै नागरिकको साथ र सहयोगले मात्र समस्या समाधान हुने पनि उनले बताएका छन्।

प्रतिनिधिहरूले पनि चुनावमा आफूले बोलेका कुराहरू पूरा गर्नतिर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्