जागिर छोडर चुनाव लडेकाहरु धमाधम वडा अध्यक्ष



सन्तोष अधिकारी, गोरखा । जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाको वडा अध्यक्षमा जागिर छोडेर चुनाव लडेकारहरु निर्वाचित भएका छन् ।

अहिले सम्म चुनाव लड्न कै लागि जागिर छोड्नेहरुको संख्या चार भइसकेको छ । चार जनाले नै वडा अध्यक्षमा जित हात पारेका हुन् ।
जिल्लाको अजिरकोट गाउँपालिका ३ को अध्यक्षमा तयाराज गुरुङ्ग निर्वाचीत भए । उनले नेकपा माओवादी केन्द्रका उमेद्वार धन बहादुर गुरुङ्गलाई पराजित गरेका हुन् ।

तयाराज गुरुङ्गले ज्ञान ज्योती माध्यामिक विद्यालयको प्रधानाध्यापकको पदबाट राजीनामा दिएर नेपाली कांग्रेसको तर्फबाट उमेद्वार भएका थिए ।
त्यस्तै नेकपा एमालेका उमेद्वार देवी बहादुर बस्नेतले नेपाली कांग्रेसका उमेद्वारलाई हराएर गोरखा नगरपालिका १० को वडा अध्यक्ष बने । बस्नेत जिल्ला जनास्वास्थ्य कार्यालयमा कार्यरत थिए । चुनाव लड्नकै लागि उनले जागिरबाट राजीनामा दिएका हुन् ।
चुनाव लड्नकै लागि जागिर छोडेका र वडा अध्यक्ष जितेका अर्का ब्यक्ति हुन देउवहादुर गुरुङ्ग । गुरुङ्गले गण्डकी गाउँपालिका वडा नं. २ ताङ्लिचोकमा चुनाव लड्न महादेव प्राविको प्रधानाध्यापक पदबाट राजीनामा दिएका थिए । गुरुङ्गले नेकपा माओवादी केन्द्रका एक बहादुर थापालाई हराएका हुन् ।
त्यस्तै शिक्षक पेशाबाट राजीनामा गरेर वडा अध्यक्ष बनेका अर्का ब्यक्ति हुन दिलिप नारायण थापा । उनले शहिद लखन गाउँपालिका ६ घैरुङ्गको वडा अध्यक्ष हुन स्थानीय चन्द्रकला प्राविबाट राजीनामा दिएका हुन् । उनले पनि माओवादी केन्द्रका अचल गुरुङ्गलाई हराएका हुन् ।

गोरखा नगरपालिका १ ताप्लेमा पनि शिक्षक पेशाबाट राजीनामा दिएर कांग्रेसको उमेद्वार भई चुनाव लडेका रहमतुल्ला मियाँ विजयी भए । उनले नेकपमा एमालेका उमेद्वार देवी प्रसाद श्रेष्ठलाई हराएर वडा अध्यक्ष बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्