दोलखाको दुई गाँउपालिकामा बुथ कब्जा, पुनः मतदान गर्नुपर्ने एमालेको माग 



चिरञ्जीवी मास्के, दोलखा । स्थानिय तहको निर्वाचनको मतदानको क्रममा दोलखाको बिभिन्न मतदान केन्द्रमा झडप भएको छ । तामाकोसी गाँउपालिका र बैतेश्वर गाँउपालिकामा कांग्रेस माओवादी केन्द्रले बुथ कब्जा गरी एकलौटी मतदान गरेको एमाले दोेदवलखाले आरोप लगाएको छ ।

बैतेश्वर गाँउपालिका वडा नम्बर १ को बिष्णु प्रावि गैरीमुदी र वडा नम्बर २ को जनज्योती मावि गैरीमुदीमा कांग्रेस माओवादीले बुथ कब्जा गरी एमालेका उम्मेदवार, प्रतिनिधि र कार्यकर्तालाई लखेटेर एकलौटी मत हालेको एमाले दोलखाका प्रचार विभाग प्रमुख धमेन्द्र मोक्तले बताए । बुथ कब्जा हुदा पनि सुरक्षाकर्मी मूक दर्शक बनेको मोक्तानको आरोप छ । मतदान सुरु हुन अघिनै कांग्रेस माओवादी केन्द्रका कार्यकर्ताले एक दर्जन एमाले कार्यकर्तालाई कुटपिट गरी घाईते बनाएको पनि उनले बताए ।

त्यसैगरी तामाकोसी गाँउपालिकाको वडा नम्बर २ अम्बर मावि झुले मतदान केन्द्र, वडा नम्बर ३ कालापानी जफे केन्द्र र वडा नम्बर ३ जामुने हेल्थपोष्ट केन्द्र जफेमा पनि कांग्रेस माओवादी केन्द्रले बुथ कब्जा गरेको एमाले दोलखाले जनाएको छ । तामाकोसी गाँउपालिकाका प्रमुखको उम्मेदवार इश्वरचन्द्र पोखरेललाई समेत मतदान स्थलमा बस्न नदिएको एमालेको भनाई छ ।

सुरक्षाकर्मीले मतदान स्थलको सुरक्षा गरी शान्तिपूर्ण ढङ्गले मतदान गर्ने बाताबरण बनाउनु पर्नेमा एमालेको उम्मेदवार प्रतिनिधिलाई आफ्नो सवारी साधानमा राखि मतदान स्थलबाट टाढा लगेको आरोप एमालेले लगाएको छ । एमाले दोलखाले तामाकोसी र बैतेश्वर गाँउपालिकाको पाँच ठाँउमा बुथ कब्जा भएको आरोप सहित पुनः मतदानको लागि मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेको छ ।

दोलखाको विगु, कालिञ्चोक, गौरीशङ्कर र मेलुङ गाँउपालिकाको केहि वडाहरुमा केहि समय तनाव भएपनि अहिले शान्तिपूर्ण ढङ्गले मतदान भै रहेको स्थानियले बताएका छन् । तामाकोसी गाँउपालिकाको सहरेमा झडपका कारण स्थगित भएको मतदान प्रकृया अहिलेसम्म सुरु हुन नसकेको स्थानिय मतदाताले बताएका छन् ।

निर्वाचन प्रचारको क्रममा माओवादी केन्द्रको कार्यकर्ताले एमाले कार्यकर्ता कुलबहादुर तमाङको हत्या गरेपछि तनाव भएको गौरीशङ्कर गाँउपालिकामा भने अहिले शान्तिपूर्ण ढङ्गले मतदान भै रहेको जनाईएको छ ।

दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले तामाकोसी गाँउपालिकाको सहरेमा पुनः मतदान सुरु गर्न हेलिकप्टरमा थप सुरक्षाकर्मी पठाईएको र अन्य ठाँउको बारेमा जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्