‘हामीले कोरा कल्पना गरेका छैनौ, गर्न सक्ने काम मात्रै अगाडि सारेका छौ’



नेकपा एमालेले स्थानीय निकाय निर्वाचनमा काठमाडौ महानगरपालिकामा एक जना मात्रै महिला उम्मेदवारलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । काठमाडौ महानगरपालिका १४ बाट एमालेले बडाध्यक्षको रुपमा अघि सारेको उम्मेदवार हुन शोभा सापकोटा । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहनु भएकी सापकोटा त्यस क्षेत्रकी चर्चित महिला नेतृ हुन ।

आगामी आईतबार हुने स्थानीय निकायको निर्वाचनमा होमिएकी सापकोटा संग गरिएको कुराकानीको केही अंश ।

तपाई एमालेको तर्फबाट यस वडामा अध्यक्षको उम्मेदवार हुनु भएको छ । तपाईले चुनाव जित्ने आधार के के हुन ?

म यस वडामा लामो समयदेखि समाजिक सेवाका काममा सक्रिय हुदै आएको छु । यस वडाका कुनैपनि नागरिकलाई कुनै समस्या पर्दा म बिहान बेलुका केही नभनी खटिने गरेको छु । यहांको हरेक काममा मेरो सहभागिता रहदै आएको छ । काठमाडौ महानगरपालिकामा कुनैपनि उम्मेदवारले महिलालाई अध्यक्षमा उठाएका छैनन । त्यस कारण पनि मलाई महिला दिदी बहिनीले भनेका छन । यस पटक पाटी भन्दा पनि काम गर्न सक्ने मान्छेलाई जिताउने भनेका छन यही हो मेरो यहां चुनाव जित्ने आधार । अहिले हामीले यस वडालाई राजधानी कै नमुना वडा बनाउने भनेर १५ वटा टोल कमिटीले गठन गरेर लागेका छौ ।

वडा बिकासका तपाईका योजना के के हुन त ?

हामीले असम्भव केही कुरापनि गरेका छैनौ । म यस वडामा बिजयी भएपछि गर्ने १ सय दिनको खाका जनताका माझमा पु¥याइरहेका छौ । यस वडालाई भ्रष्टाचार मुक्त वडा बनाउने, धुलो धुवाको जुन समस्या छ त्यसलाई सम्वोधन गर्ने । यस वडामा बहालवाला मुख्य सचिव देखि ११ जना बहालवाला सचिवको बसोवास भएको क्षेत्र हो यो । त्यस कारण उहांसंग सल्लाह गरेर बिकासको कामलाई अगाडि बढाउछु । यस वडालाई सभ्य सफा र हरियाली वडा बनाउने योजनाका साथ अगाडि बढेको छु ।

यो वडाको आफ्नो भवन छैन म त्यो पनि बनाउने र जनताले चाहेको सेवा त्यही वडाबाट दिने गरी अगाडि बढेको छु ।
तपाईका प्रतिस्प्रर्धी को हुन त ?

बास्तममा यो वडामा मेरो प्रतिद्धन्द्धी नै छैन भनेपनि हुन्छ । हिजो भूकम्प जादा म यस वडाको ६ सय घरमा पुगेर स्थानीयहरुको दुखेको घाउमा मल्हम लगाउने काम गरेको छु । उहांहरुलाई तत्काल दिनुपर्ने सुबिधा उपलब्ध गराउन मैले पहल गरेको थिए । मेरो वडाका मतदाताहरु ऋहिले मसंग खुसी हुनुहुन्छ । उहांहरुले भन्नुभएको छ नानी परेको बेलामा हामीलाई सहयोग गर्ने तपाई नै हो हामी तपाईलाई छोडेर अन्त भोट हाल्दैनौ । त्यसकारण मैले मेरो वडामा मेरो प्रतिद्धन्द्धी कोही पनि देखेको छैन ।

यस वडाका प्रमुख समस्याहरु के के हुन ?

यस वडाको प्रमुख समस्या भनेको खानेपानीको हो । सरकारले मेलाम्चीको पानी काठमाडौ ल्याउने भने पनि त्यो आयोजनाको पानी यो वडामा तत्कालै आउने योजना नै रहेको छैन । त्यस कारण मैले यो वडाको पानीको समस्या समाधान गर्ने कार्ययोजना बनाएको छु । अहिले बिभिन्न स्रोतबाट यस क्षेत्रमा आएको पानीलाई एकिकृत गरी यस वडामा नै बितरण गर्ने योजना बनाएको छु । यहको अर्को समस्या भनेको धुलो धुवा र अब्यवस्थित बस्ती हो त्यसलाई समेत ब्यवस्थित बनाउने योजना अगाडि बढाएको छु । यहांका बाटाघाटा बिग्रिएको छ त्यसलाई समेत मर्मत संभार गरी धुलो मुक्त वडा बनाउने योजना समेत बनाएको छु ।

निर्वाचनका बेला अघि सारिएका नारा पुरा गर्न सक्नु हुन्छ त ?

हामीले कोरा कल्पना गरेका छैनौ । यहां गर्न सक्ने काम मात्रै अगाडि सारेका छौ । हामीले अन्य दलले जस्तो यो पनि गर्छु उ पनि गर्छु भनेको छैन । हामीले जे भनेका छौ त्यो गर्न सक्ने काम मात्रै अगाडि सारेकाले हामीलाई त्यस्तो कुनै समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्