उम्मेदवारको मृत्यु भएको वडामा जेठ २ गते मतदान


रत्ननगर (चितवन), २८ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले आज उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरी आज नै चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

अन्य क्षेत्रमा निर्वाचनका लागि खटिने सबै कर्मचारी तथा स्वयम्सेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ३७६ मतदान केन्द्रमा तीन हजार ३५० जना कर्मचारी र स्वयम्सेवक खटिएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मतदान केन्द्रको सुरक्षा चुस्त पारिएको भन्दै सम्भावित क्षेत्रमा निगरानी बढाइएको जानकारी दिनुभयो । चितवनमा सात स्थानीय निकाय रहेका छन् जसमा एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । जिल्लामा कुल तीनलाख १३ हजार दुई मतदाता रहेका छन् । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।