रुकुम मा निबार्चनको सबै तयारी पुरा



धनवीर दाहाल, रुकुम ।

स्थानीय तह निबार्चनको मिति नजिकिदै गर्दा रुकुमका पहिलो चरणमा निबार्चन हुने ६ स्थानीय तहमा सम्पुर्ण तयारी पुरा भएको बताइएको छ ।

जिल्ला निबार्चन कार्यालय रुकुमका अनुसार १०७ मतदान केन्द्रमा कर्मचारी, निबार्चन सामाग्री र सुरक्षाकर्मी पुगीसकेका छन् । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, बाँफिकोट गाँउपालिका, त्रिबेणी गाँउपालिका र सानीभेरी गाँउपालिका गरी ६ स्थानीय तहको बैसाख ३१ गते निबार्चन हुँदै छ ।

मुख्य निबार्चन अधिकृत डण्डपानी शर्माले १०७ मतदान केन्द्रको लागी ६४२ कर्मचारी पठाइसकिएको जानकारी दिनुभयो । निबार्चन आचारसंहिता केही राजनितिक दलले उलंघन गरिरहेका उजुरी आएकोले अनुगमनका लागी अनुगमन टोली खटिएको मुख्य निबार्चन अधिकृतको कार्यालयले जनाएको छ ।

आचारसंहिता उलंघन भएको पाइएमा कानुन बमोजिम कार्वाही हुने मुख्य निबार्चन अधिकृतको कार्यालयका सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । निबार्चनको लागी सुरक्षाको पुर्ण व्यवस्था भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक अंगुर जिसीले केन्द्रीय सुरक्षा समिती तथा जिल्ला सुरक्षा समितीले पास गरे भन्दा थप २०० प्रहरी रुकुममा भित्र्याइएको जानकारी दिनुभयो ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुद बनाइएको प्रमुख जिल्ला अधिकारी बंशिकुमार आचार्यको भनाई छ । हाल सम्म सानातिना झडप बाहेक कुनै अप्रिय घटना नघटेको र सबै दलहरुलाई ध्यानआर्कषण गराइएको उहाँले जानकारी दिनुभयो ।

शान्ति सुरक्षामा खलबल पुर्याउने काम भए तत्कालै स्थानीय प्रशासन एक्सनमा आउने प्रजिअको भनाई छ । स्थानीय प्रशासनले आममतदातालाई सुरक्षाको अनुभुति दिलाउने उहाँले बताउनुभयो । स्थानीय तह निर्बाचनका लागी रुकुमका ९ स्थानीय तहमा जम्मा १ लाख १ हजार ९ सय ३२ जना मतदाता रहेका रहेका छन ।

जिल्ला निर्बाचन कार्यालय रुकुमका अनुसार जसमा ५१ हजार १ सय ५३ महिला र ५० हजार ७ सय ७८ पुरुष छन । त्यसमध्य बैसाख ३१ मा हुने पहिलो चरणको निर्बाचनमा ६ स्थानीय तहमा ७७४५१ मतदाता छन् । रुकुममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्रपार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, नेपाल परिवार दल र स्वतन्त्रबाट गरी ११८७ उम्मेदवार चुनावी मैदानमा छन् ।

दलहरुले चुनावी प्रचार अभियानलाई तिब्र पारेका छन् । मुख्य प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रले गाँउ गाँउमा पुगेर घरदैलो तथा जनभेटघाट एवं खुल्ला सभा गरेर आ आफ्नो पक्षमा मत मागिरहेका छन् । रुकुमको बाँफिकोट गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच तालमेल समेत भएको छ ।

नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार जनककुमार बाँठालाई एमालेले सघाउने र नेकपा एमालेका बिउझना पुनलाई नेपाली कांग्रेसले सघाउने सहमति भएपछि सो स्थानीय तहमा संयुक्त चुनावी कार्यक्रमहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्