कीर्तिमानको आसमा निधन



काठमाडौं, (नेस)
नयाँ विश्व कीर्तिमान कायम गर्ने सपना बोकेर सगरमाथा आरोहणमा जानुभएका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको शनिबार निधन भएको छ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शनिबार ५ बजेर १४ मिनेट जादा शेरचनको एभरेस्ट बेस क्याम्पमा निधन भएको हो। घटनाको विस्तृत जानकारी आउन अझै बाँकी रहेको उहाँले जनाउनुभयो।

यसअघि सगरमाथा आरोहण गर्ने सबैभन्दा जेष्ठ नागरिकको कीर्तिमान जापानी नागरिक युचिरो मिउराको नाममा रहेको थियो। सन् २००८यता शेरचन र मिउराबीच पालैपालो कीर्तिमान राख्ने र तोड्ने प्रतिस्पर्धा थियो। पछिल्लोपटक मिउराले सन् २०१३ मा ८० वर्ष २ सय २४ दिन उमेरमा सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।

सन् २००८ मा ७६ वर्षको उमेरमा शेरचनले पहिलोपटक ३ सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नुभएको थियो। सन् २०१३ र २०१५ मा भने शेरचनको आरोहण सफल हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्