चार महानगरपालिकामा को–को ?




जयकुमार महर्जन, काठमाडौं
मुलुकका विभिन्न चार महानगरपालिकामा ठूला राजनीतिक पार्टीले विभिन्न व्यक्तिलाई मेयर तथा उपमेयरको उम्मेदवार बनाएका छन्। नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने दिन मंगलबार नै चारवटै महानगरपालिकाका लागि मेयर र उपमेयरका उम्मेदवार चयन गरेको छ।

जसअनुसार काठमाडौं महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्याललाई उम्मेदवार तोकेको छ। उहाँहरूले मंगलबार नै उम्मेदवारको मनोनयन दर्ता गर्नुभएको छ।

त्यस्तै नेकपा एमालेले काठमाडौं महानगरपालिकामा राप्रपासँग चुनावी तालमेल गरी मेयरमा युवा नेता विद्यासुन्दर शाक्यलाई उठाएको छ। काठमाडौं महानगरपालिकाको उपमेयरमा भने एमालेले राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गरेको छ। शाक्य नेकपा एमालेका जिल्ला सचिव हुनुहुन्छ। यसअघि उहाँ दुईपटक काठमाडौं महानगरपालिका २२ को वडा अध्यक्ष भइसक्नुभएको छ।

ललितपुर महानगरपालिकामा पनि एमालेले राप्रपासँग चुनावी तालमेल गरी मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई टिकट दिएको छ भने उपमेयरमा राप्रपाका बाबुकाजी मर्हजनलाई समर्थन गरेको छ।

व्यञ्जनकार एमाले ललितपुर जिल्ला अध्यक्ष हुनुहुन्छ। उहाँ सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ।

एमालेले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जिसी गत संविधानसभाको चुनावमा कांग्रेसका यज्ञबहादुर थापासँग १ सय ५० मतले पराजित हुनुभएको थियो। भरतपुर महानगरपालिकामा एमालेले मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्य शर्मालाई टिकट दिएको छ। टिकट पाएका सबैले मंगलबार मनोनयन दर्ता गराएका छन्।

ज्ञवाली नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य हुनुहुन्छ। यसअघि उहाँ भरतपुर नगरपालिकाबाट उपमेयरसमेत भइसक्नुभएको छ। यसै गरी नेकपा (माओवादी केन्द्र)ले चारवटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ। जिल्ला समितिको सिफारिसमा मंगलबार बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ।

माओवादीले काठमाडौंको प्रमुखमा सर्वोत्तम डंगोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ। डंगोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्जसमेत हुनुहुन्छ। यस्तै ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा हसिना शाक्यलाई उम्मेदवार बनाएको छ। ललितपुर महानगर प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ।

यस्तै भरतपुर महानगरका प्रमुखमा प्रधानमन्त्री पुत्री रेणु दाहाललाई तथा उपप्रमुखमा सुरेन्द्र गुरुङलाई उम्मेदवार बनाइएको छ। यसै गरी पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ। यस्तै उपप्रमुखको उम्मेदवारमा गोमा ढकाललाई तोकिएको छ। पोखरा लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्