यस्तो हुनेछ तीन घेराको सुरक्षा



दीपक रिजाल, काठमाडौं
वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन सुरक्षा तयारी पूरा भएको र सुरक्षा निकाय अहिले निर्वाचन हुने क्षेत्रमा खटिएको गृह मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ मा सुरक्षा निकायको टोली परिचालन भएको र त्यसरी खटिएका सुरक्षा अधिकारीले मतदान केन्द्र तथा सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिएर तयारीमा लागेको सुरक्षा निकायहरूले जनाएका छन्।

सरकारले पहिलो पटक निर्वाचन हुने क्षेत्रलाई तीन भागमा विभाजन गरेर सोही अनुरूपको सुरक्षा व्यवस्थासमेत गरेको जनाएको छ।

सुरक्षा निकायले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको छ। सुरक्षाका लागि पहिलो चरणमा म्यादी प्रहरीसहित १ लाखको हाराहारीमा सुरक्षा फौज परिचालन हुने भएको छ।

तीनवटा सुरक्षा निकायमध्ये नेपाल प्रहरी मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मत पेटिकाको सुरक्षा गर्नुका साथै मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा गर्नेछ भने त्योभन्दा बाहिर मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरी बलले गर्ने र मतदान केन्द्र रहेको इलाकाको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ।

सामान्य अवस्थामा रहेका मतदान केन्द्रमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जना प्रहरी र ४ जना म्यादी प्रहरी खटिने भएका छन् भने सशस्त्र प्रहरी बलको ७ जना र नेपाली सेनाको एक सेक्सन खटिने भएका छन्।

संवेदनशील क्षेत्रमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकको कमाण्डमा ६ जना नेपाल प्रहरी र ८ जना म्यादी प्रहरी खटिने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले पहिलो चरणमा हुने निर्वाचनको सुरक्षा तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा विभाजन गरी सुरक्षा निकायलाई सोहीअनुरूप परिचालन गरिएको जानकारी दिनुभयो।

अति संवेदनशील र संवेदनशील क्षेत्रमा सशस्त्र प्रहरीका १३ देखि २० जना र नेपाली सेनाको एक सेमु टुकडी परिचालित हुने भएका छन्।
सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कठायतले निर्वाचन सुरक्षाका लागि निर्वाचन सुरक्षा बेस स्थापना गरी सुरक्षा फौज परिचालन गरेको जानकारी दिनुभयो। अहिले फौज निर्वाचन हुने क्षेत्रमा खटिएको र सुरक्षा अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बलले पनि आफ्नो निर्वाचन सेलमार्फत चुनाव हुने स्थानको पहिचान गरी सुरक्षा निकायलाई आवश्यक बन्दोबस्तीका सामानसहित क्षेत्र क्षेत्रमा पठाएको र सो संगठनले हरेक मतदान केन्द्रलाई लक्षित गरी १५ जनाको २ वटा स्ट्राइकिङ फोर्स र १० जनाको मोबाइल टोली खडा गरेको तथा थप मदत चाहिने क्षेत्रमा विभिन्न जिल्लामा तैनाथी हालतमा फौज परिचालन गरेको जानकारी दिएको छ।

नेपाल प्रहरी र नेपाली सेनाले थप मदतका लागि विभिन्न युनिटमा तैनाथी हालतमा राखेको जनाइएको छ। यसपटकको निर्वाचनमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई पनि खटाइएको छ। उनीहरूले मतदान केन्द्रको अवस्था र सुरक्षा अवस्थाका बारेमा नियमितरूपमा नियामक निकायलाई जानकारी गराउने स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्