ताल फुट्दा बस्ती बगरमा परिणत



इन्द्र गिरी, संखुवासभा
संखुवासभा जिल्लाको मकालु–२ मा रहेको यउपा पिकको फेदमा रहेको रङ्ग ताल विस्फोटपछि आएको बाढीले २ करोड रुपियाँभन्दा बढी क्षति भएको छ। ताल विस्फोट भई एक्कासि आएको बाढीले मकालु–२ याङ्लेखर्कका छोपाल शेर्पाको १ पसल र १ होटल बगाएको पीडितले बताएका छन्। करिब ३ हजार ५ सय मिटरको उचाइमा रहेको याङ्लेखर्कमा बाढीले अन्य २ घरमा समेतमा क्षति पुर्याएको छ। बाढीले ल्याएको माटो ढुङ्गाले १० फिट अग्लो बगर बनाएको र घर पुरेको बाढीपीडित शेर्पाले बताउनुभयो।

मकालुको याङ्लेखर्कबाट ५ दिन पैदल हिँडेर सदरमुकाम खाँदबारी आएका बाढीपीडित शेर्पाका अनुसार मकालुको याङ्लेखर्कबाट एकदिनको पैदल दूरीमा रहेको करिब ४ हजार ५ सय मिटर उचाइमा रहेको यउपा पिकमुनिको रङ्ग ताल गत बिहीबार विस्फोट भएको थियो। विस्फोट भई आएको बाढीले नेखर्क, याङले, फेमाताङ, ज्याकखर्कमा भएको ४ वटा काठेपुल पनि बगाएको छ। रेन्जी शेर्पाको १५ वटा चौंरी बगाएको उनले बताए। सबै गरी कम्तीमा २ करोडभन्दा बढीको क्षति भएको उनले बताएका छन्।

उनले भने– ‘एक छिनको बाढीले मेरो उठिबास लगाएको छ। हेर्दाहेर्दै सबै घर र पसल बाढीले बगाएर लग्यो। धन्न आफूचाहिँ भागेर ज्यान बचाएको छु।’ ‘आफ्नो होटलमा रहेका २५ भन्दा बढी स्वादेशी र विदेशी नभागेको भए सबै जनालाई बाढीले बगाउने थियो।’ –उनले भने। अहिले याङ्लेखर्क बगरमा परिणत भएको र कतैबाट राहत नपाएको शेर्पाको गुनासो थियो।

अहिले बाढीले पुल र बाटो बगाएपछि नेपालकै पाँचौं अग्लो हिमाल मकालु र मकालु बेस क्याम्पसम्म जाने बाटो अवरुद्ध भएको शेर्पाले बताए। उनले अहिले हिमाल आरोहण र बेस क्याम्पसम्म पर्यटक आउने समय भएकाले पुल र बाटो तत्काल नबनाए ठूलो कठिनाइ हुने र पर्यटक आउन समस्या हुने बताए।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले मकालु हिमाल आरोहण र बेस क्याम्पसम्मका लागि चैतमा ५४ र वैशाखमा १९ गरी ७३ जना पर्यटक त्यसक्षेत्रमा गएको बताउनुभयो। बाढीले पसल, घर, पुल र बाटो बगाएको छ। त्यस क्षेत्रमा तत्काल अनुगमनका लागि हेलिकोप्टर माग गरी केन्द्रमा पठाएको र क्षतिको विवरणका लागि नेपाली सेनाको टोली पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्