नयाँ सिल्क रुट जोडिए चीन र बेलायत

0
Shares

बेइजिङ, (एजेन्सी)
ह्विस्की र बच्चालाई खुवाउने दूध बोकेको रेल १२ हजार किमी (७ हजार ५ सय माइल) लामो बेलायत–चीन यात्रा पूरा गरेर शनिबार बिहान स्थानीय समय अनुसार ९ः३० बजे चीनको पूर्वी शहर यिऊ आइपुगेको छ। यो रेलमार्ग विश्वकै दोस्रो लामो रेलमार्ग हो। यो मार्ग चीनले पश्चिम युरोपमा आफ्नो व्यापार वृद्धि गर्ने नीतिअन्तर्गत नयाँ सिल्क रोडसमेत भनिने मार्गबाट भएको हो।

बेलायतको राजधानी लन्डनबाट १० अप्रिल अर्थात् २० दिनअघि गुडेको सो रेल फ्रान्स, बेल्जियम, जर्मनी, पोल्यान्ड, बेलारुस, रसिया र कजाकस्तान हुँदै चीन आइपुगेको हो। सन् २०१३बाट शुरू गरेको ‘वन बेल्ट, वन रोड’अन्तर्गत चीनले ठूलो रकम लगानी गरिरहेको छ।

चीन–बेलायत नयाँ राजमार्ग रसियाको प्रख्यात ट्रान्स–साइबेरियन रेलमार्गभन्दा लामो छ भने सन् २०१४ मा खुलेको चीन–मेड्रिड रेलमार्गभन्दा चाहिँ १ हजार किमी छोटो रहेको छ। यो सेवा हवाई मार्गभन्दा सस्तो र पानी जहाजभन्दा निकै छिटो भएकाले दुई देशको व्यापार सस्तोमा प्रवद्र्धन गर्न मदत गर्ने विज्ञहरूले बताएका छन्। पानी जहाजबाट सामान ओसार्नभन्दा रेलबाट ओसार्न ३० दिन छिटो हुने बताइएको छ।

पहिला १८ दिनमा नै दुई देशको यात्रा पूरा हुने बताइए पनि थप दुई दिनको समय लागेको थियो। बेलायत युरोपेली संघबाट बाहिरिएको अवस्थामा बेलायतका लागि चीन एउटा महत्त्वपूर्ण वैकल्पिक व्यापारिक साझेदार हुनलाई बाटो खुलेको अर्थमा समेत यसले विश्वभरी चर्चा पाएको पाइएको छ।

Skip This