कांग्रेसबाट चित्रकारले आँटे महानगरपालिका



ल्याइसके योजना र कार्यक्रम


कांग्रेसभित्र गुट उपगुट तथा अन्तर्घात धेरै हुने भएकाले सर्वसम्मत उम्मेद्वार चयन गर्न नसके अन्य दललाई फाइदा पुग्ने भएकाले कांग्रेसले उम्मेद्वार छनोटमा विशेष ध्यान दिइरहेको छ।

“३ लाख २० हजारभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकामा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ। ३५ वडाबाट ३२ वटा वडा कायम गरिएको यो महानगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा विजयी हुन कम्तिमा पनि ७० हजारको हाराहारीमा मत ल्याउनुपर्ने अनुमान गरिएको छ।”

रामकृष्ण चापागाई, काठमाडौ ।

बैशाख ३१ गते हुने स्थानीय तहको उमेद्वार छनोटको चर्चा चलिरहँदा काठमाडौं महानगरपालिकालाई पनि महत्वका साथ हेरिएको छ। केन्द्रीय सरकार मात्र होइन महत्वपूर्ण सरकारी कार्यालयहरूको केन्द्र रहने काडमाडौं महानगरपालिकाको प्रमुख हुन मुख्य दलका प्रभावशाली व्यक्तित्वहरूको दौडधुप चलिरहेको छ।

महानगरपालिकाको प्रमुखको उमेद्वारका लागि वहालवाला मन्त्री र सांसदहरूको नामसमेत चर्चामा आएको छ। उनीहरू वहालमा रहेको पदबाट राजीनामा दिएर उम्मेद्वार बन्न नपाउने होइन तर वहालवाला मन्त्री र सांसदहरू उम्मेद्वार हुने सम्भावना ज्यादै न्यून छ। काठमाडौं महानगरपालिकामा नेतृत्व लिन तम्सेका आकांक्षीहरूले महानगरलाई कस्तो शहर बनाउने भन्ने योजनासमेत तय गर्न थालेका छन्।

महानगरपालिकाको प्रमुखको उमेद्वार तय गर्दा प्रमुख दलहरूले अन्य गाउँपालिका र नगरपालिकाको भन्दा बढी उमेद्वारको विशेष क्षमतालाई पनि हेर्न मतदाताहरूले दलहरूलाई सुझाव दिइरहेका छन्। काठमाडौंलाई राम्रोसँग बुझेको, विभिन्न जातजाति र धर्म संस्कृतिको जगेर्ना गर्न सक्ने मात्र होइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन सक्ने दूरदर्शी क्षमता भएको उमेद्वारलाई नै काठमाडौं महानगरपालिकाको प्रमुख बनाउनुपर्ने मतदाताहरूको चाहना रहेको छ।

कुनै पनि राजनीतिक दलको सदस्यता नलिएका नै निर्णायक मतदाता हुने अनुमान गरिएको काठमाडौं महानगरपालिकामा उमेद्वार बन्न र निर्वाचन जित्न स्थानीय र नेवारी समुदायको उमेद्वार हुनुपर्ने बताइएको छ। ४ वर्षअघि भएको दोस्रो संविधानसभाको निर्वाचनको परिणामअनुसार काठमाडौंमा नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी क्रमशः बढी मत ल्याउने दलका रूपमा देखिएका छन्।

३ लाख २० हजारभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकामा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ। ३५ वडाबाट ३२ वटा वडा कायम गरिएको यो महानगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा विजयी हुन कम्तिमा पनि ७० हजारको हाराहारीमा मत ल्याउनुपर्ने अनुमान गरिएको छ। नेवार जातिको बाहुल्य रहेको यो नगरपालिकामा ४४ प्रतिशत जनजाति मतदाता रहेको बताइन्छ। प्रमुख दलहरूले महानगरपालिकाको मेयरका लागि उम्मेद्वार छनोट गर्ने प्रक्रिया अघि बढाइरहँदा नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र धेरैको नाम चर्चामा आइरहेको छ। कांग्रेसबाट चर्चामा आएको नाममध्ये नवीन चित्रकार पनि एक हुनुहुन्छ।

नेपाली कांग्रेसका नवीन चित्रकार काठमाडौंबासीलाई चिनाइरहनुपर्ने नाम होइन। लामो समयदेखि कांग्रेसभित्र रहेर राजनीतिक परिवर्तनलाई सही मार्गमा ल्याउन र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि सक्रिय रहँदै आउनुभएका चित्रकारले २०४६ सालको जनआन्दोलनमा कांग्रेस र कम्युनिस्टहरूसँग मिलेर संयुक्त आन्दोलन गर्न संयोजनकारी भूमिका निभाउनुभएको थियो। प्रजातन्त्रका सेनानी गणेशमान सिंहका राजनीतिक सहयोगीका रूपमा १४ वर्ष काम गर्नुभएका चित्रकारले नै २०४६ सालको जनआन्दोलनमा संयुक्त आन्दोलनका गर्नका लागि बसेको पहिलो बैठकको संयोजन गर्नुभएको थियो।

हाल काठमाडौं क्षेत्र नम्बर ८ का महासमिति सदस्य रहेका चित्रकार महानगरपालिकाको प्रमुखमा उमेद्वारी दिने अकांक्षा राख्दै महानगरपालिकाको समग्र विकासको खाका तयार पार्दै हुनुहुन्छ। नेपाल समाचारपत्रसँगको भेटमा आफ्नो महानगरपालिकाको प्रमुखमा आकांक्षा रहेको भन्दै १८ वर्षसम्म महानगरपालिका जनताको सेवक हुन नसकेको गुनासो गर्नुभयो। चुनावका लागि आफ्नो मूल नारा ‘मेरो शहर, सुन्दर शहर, हामी सबैको शहर महानगर’ तय गरेका चित्रकारले महानगरपालिकालाई वडा तहमा र समग्र महानगरपालिकाको विकासका लागि दुई छुट्टाछुट्टै योजनासमेत बनाउनुभएको छ। ३२ वटै वडाका वडा अध्यक्षसंगको सहकार्यमा काम गर्ने योजना बनाउनुभएका चित्रकारले प्रत्येक वडामा छुट्टाछुट्टै समस्या भएकोले सोहीअनुसार योजना बनाउने बताउनुभयो।

विश्वमा शहरहरूको विभिन्न मोडलहरू भए पनि काठमाडौंलाई नेपाली पहिचान झल्कने मोडेलमा विकास गरिनुपर्ने उहाँको चाहना छ। नेपाली कांग्रेसले आफूलाई महानगरपालिकाको प्रमुखमा उम्मेद्वार बनाए निर्वाचन सजिलैसंग जित्न सकिने विश्वास पनि उहाँमा छ। तपाईंलाई नै कांग्रेसले किन उम्मेद्वार बनाउनुपर्ने भन्ने प्रश्नमा चित्रकार भन्नुहुन्छ– ‘मैले पार्टीमा धेरै योगदान पुर्याएको छु भने अन्य राजनीतिक दलहरूसंग संयोजनकारी भूमिका निभाएर ठूला–ठूला आन्दोलन सफल बनाउने क्षमता पनि देखाइसकेको छु।’ साथै भाषिक, साहित्यिक, हिन्दूइजम, बुद्धिजम, सबैसँग आफ्नो संलग्नता रहेको पनि उहाँ बताउनुहुन्छ।

काठमाडांै महानगरपालिकाभित्र करिब १० लाखभन्दा बढी जनसंख्याको बसोबास छ। महानगरपालिकाभित्र फोहर, अस्तव्यस्त विद्युत र खानेपानी, सडक विस्तार, धुँवाधुलोले स्थानियबासी मात्र होइन यहाँ बसोबास गर्ने सबै हैरान छन्। महानगर विकासका लागि आफ्नो योजना सुनाउँदै चित्रकार भन्नुहुन्छ– ‘यी सबै समस्यालाई व्यवस्था गर्नुका साथै काठमाडौंको ठाउँठाउँमा ग्रिनपार्क बनाउने छु।सूचना, सञ्चार र प्रविधिले सबै वडालाई जोड्ने योजना छ।’ चित्रकार काठमाडौंमा रहेको सांस्कृतिक सम्पदाको जगेर्नाका लागि विशेष योजना बनाइरहेको बताउनुहुन्छ। साथै काठमाडौं नगरभित्र बसोबास गर्ने सबै जातजाति र धर्म संस्कृतिको जगेर्ना गर्नका लागि पनि आफ्नो छुट्टै योजना हुने उहाँ बताउनुहुन्छ।

दोस्रो संविधानसभा निर्वाचनको नतिजाअनुसार महानगरपालिकाभित्र कांग्रेस अग्रस्थानमा रहेको अनुमान गरिएको छ। कांग्रेसभित्र गुटउपगुट तथा अन्तर्घात धेरै हुने भएकाले सर्वसम्मत उम्मेद्वार चयन गर्न नसके अन्य दललाई फाइदा पुग्ने भएकाले कांग्रेसले उम्मेद्वार छनोटमा विशेष ध्यान दिइरहेको छ। स्थानीय निर्वाचनमा स्थानीय उम्मेद्वारको क्षमता हेरेर पनि मतको घटबढ हुने भएकाले पार्टीले आफूलाई नै प्रमुखको उमेद्वार बनाउने चित्रकारको दाबी छ।

नेपाल चलचित्र संघका पूर्वअध्यक्षसमेत रहेका चित्रकार दर्जनभन्दा बढी विभिन्न संघसंस्थामा अहिले पनि आवद्ध छन्। सबैसंग मिल्न सक्ने, जनसम्पर्क बढी भएको, विकासको योजना तय गर्न सक्ने र अन्य दलहरूलाई समेत मिलाएर लैजान सक्ने क्षमता भएका चित्रकार युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्नका लागि समेत काठमाडौंमा विकासको योजना अघि बढाइने बताउनुहुन्छ।
कांग्रेस नेताहरूले महानगरपालिकामा उम्मेद्वार छनोट गर्दा जातीय सन्तुलनलाई ध्यान दिने बताएका छन्। उम्मेद्वार छनोट गर्दा प्रमुखमा नेवार जातिको भए उपप्रमुखमा क्षेत्री बाहुन जातिबाट उमेद्वार तय हुने बताइएको छ। देशको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिककाको प्रमुख हुन नेपाली कांग्रेसबाट राजुराज जोशी, कृष्णा अमात्य, नरोत्तम वैद्य, तीर्थराम डंगोल, हरिबोल भट्टराईलगायतका नेताहरूको नाम पनि चर्चामा आएको छ। कांग्रेसले स्थानीय निर्वाचनमा उम्मेद्वार छनोट गर्दा सक्षम, लोकप्रिय र आकांक्षी अन्यलाई समेत मान्य हुने गरी उम्मेद्वार छनोट गर्ने रणनीतिअनुसार महानगरपालिकामा चित्रकारको नाम अग्रस्थानमा आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्