उपन्यास लेखनमा समर्पित गीताकेशरी



मोहन दुवाल
न्डै ४० वर्षसम्म शाही नेपाल वायुसेवा निगममा जिम्मेवार कर्मचारी भएर पनि लेखनकार्यलाई कहिल्यै व्यस्तताका कारणले बाझका रूपमा ओझेलमा नपारी साहित्य–सिर्जना र कर्मलाई आफ्नो जीवनको एउटा अनिवार्य आवश्यक अङ्गको रूपमा यिनले स्वीकार गर्दै आएको पाइन्छ।

लेखनकार्यलाई निरन्तरता दिनुपर्छ, निरन्तरतापछि नै अभिव्यक्तिमा निखारता आउँछ, मनका चिन्तनहरूलाई पोख्न कन्जुस्याइँ गर्नुहुन्न भनी लेख्दै आएकी गीताकेशरीले आफ्ना कृतिहरू पाठकहरूका लागि एकनासले प्रकाशन गर्दै आएकी छिन्।

‘आफैंमा जागरण आएर मैले साहित्य लेखेकी हुँ। फुपू, जो बित्नुभयो, उहाँसँगै लेखन शुरु गरेँ। हाम्रो घरको पारिवारिक वातावरण नै लेखनमा प्रेरणा दिने खालको थियो। मेरा बाजेलाई भेट्न कविशिरोमणि लेखनाथ पौडेल हाम्रो घरमा बरोबर आउने गर्नुहुन्थ्यो। बन्धु पन्तलगायत गोपालराज पन्त, जो सबै साहित्यकारहरू हुन्– मेरा काकाहरू थिए। सन्तोष पन्त मेरा काकाको छोरा, भाइ। आफ्नै भाइ निरञ्जन पन्त उपन्यासकार। यस्तै साहित्यिक वातावरण पाएर म हुर्कें। साहित्य लेख्नु गौरवको विषय हुन्थ्यो हाम्रो घरमा। त्यसैले मलाई पनि साहित्य–सिर्जना गर्न मन लाग्यो।’

यस किसिमको साहित्यिक वातावरण पाएर हुर्केकी गीताकेशरीले उपन्यास विधामा समर्पित लेखिकाकै रूपमा आफूलाई उभ्याइन्। वि.सं. २०३४ देखि २०६८ सालसम्म १३ वटा उपन्यासहरू प्रकाशन गरेको देखिन्छ। प्रकाशित उपन्यासहरूमा कसिंगर (२०३४), सौगात (२०४६), आवाज (२०४७), मुक्ति (२०४८), खोज (२०५०), अन्तिम निम्तो (२०५१), विश्वास (२०५२), खुल्ला आकाश (२०५४), नोकरी (२०५५), निष्कर्ष (२०६०), बदलिँदो क्षितिज (२०६६), फक्रँदो कोपिला (२०६८) र आमा (२०७०) छन्। यसै गरी यिनका प्रकाशित कथासङ्ग्रहहरूमा तरङ्ग, छाल र लहर प्रकाशित छन्।

हालसालै मात्र यिनले नेपाली साहित्यका ध्रुवतारा महाकवि लक्ष्मीप्रसाद देवकोटा (व्यक्तिवृत्त) प्रकाशित गराएकी छन्। यिनका लेखनमा चेलीको व्यथा, सामाजिक बेथिति, देशभित्रका फोहोर, कसिंगर, मुक्तिका खोज र जनताका आवाजहरू सम्प्रेषण भएका पाइन्छन्। सामाजिक जागरणका लागि चेतना सम्प्रेषण भएका यिनका उपन्यासहरूमा प्रस्तुत भएका विषयवस्तुहरू व्यवहारमा अनुकरण गर्न लायकका छन्। कथावस्तुहरू सामाजिक पक्षसँग सम्बन्धित रहेकाले उपन्यासहरू अध्ययन गरांै–गरौंजस्ता खालका छन्।

‘धेरैजसो निबन्ध, कथा, उपन्यास, कविता हेर्न मन लाग्छ। केटाकेटी अवस्थामा कथाहरू र ठूलो हुँदै गएपछि उपन्यास र जीवनीहरू पढ्ने रुचि बढ्दै गयो। मैले लेख्न पनि कथाबाट नै शुरु गरी उपन्याससम्म लेख्न पुगेकी छु’ भन्ने गीताकेशरी आफूलाई स्वदेशी साहित्यकारहरूमा लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, गुरुप्रसाद मैनाली, पारिजात, मदनमणि दीक्षित, विनोदप्रसाद धिताल मन परेको कुरा बताउँछिन्। फुर्सदको समय अध्ययन र लेखनमा बिताउन चाहने उनले विदेशी साहित्यकारहरूमा सबभन्दा मन पर्ने भनी औंल्याएका बर्नार्ड शा, जन आस्टिन, पर्ल एस बक, स्टाइनी गार्डन, समरसेट माम, ओ हेनरी आदि हुन्।

आजभन्दा ३१ वर्षअगाडि नै जीवनसाथी गुमाएकी गीताकेशरीले जीवनका निकै कष्टप्रद क्षणहरू झेलेर पनि व्यावहारिक रूपले तीनवटी छोरीलाई व्यवस्थित ढङ्गले हुर्काइन्। तीनवटी छोरीहरूलाई नै आफ्नै खुट्टामा उभिन सक्ने गरी डाक्टर र अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पर्क गर्न सक्ने सक्षम व्यक्तित्वका रूपमा उभ्याइन् र विवाहसूत्रमा बाँधिदिइन्। जीवनका प्रहरहरू लेखिका भएर, प्रशासक भएर, अभिभावक भएर गुजारिरहेकी उनले संसारका थुप्रै देशहरूको भ्रमण पनि गरिसकेकी छन्।

‘लेखनलाई लहड मात्र बनाइनु हुन्न, लेखनलाई देशकै लागि, समाजकै लागि, जनमानसकै लागि किन नबनाउने ? यो प्रश्न मेरो मात्र होइन, युग र परिस्थितिकै माग र चाहना हो।’ यस सन्दर्भमा गीताकेशरी आफ्ना कमजोरी र बाध्यता नलुकाईकन यसरी बताउँछिन्– ‘मेरो लेख्ने बानी खाली लहड मात्रै भएकोले जहिले पनि यसमा आफ्नो कमी मात्र रहेको पाएकी छु। यसको गुणात्मक स्तर बढाउन ज्यादै अध्ययनको जरुरत पर्ने तथा समय पनि दिनुपर्ने हुँदा र नोकरी पेसामा अलमलिएकीले केही गर्न अझ सकेकी छैन भन्ने महसुस हुन्छ। यी सबै किसिमका आफ्ना कमजोरीहरू थाहा पाएर पनि म आफैं भन्न सक्दिनँ किन हो कुन्नि मलाई लेख्दै जान ज्यादै मन लाग्छ। मेरो मनोरञ्जन भनूँ या मेरो बह पोख्ने साथी भनूँ, यही कलम र कापी भएका छन्।’

उपर्युक्त भनाइ नै उनको साहित्यिक सिर्जनामा उपयुक्त भनाइ पनि हो। गीताकेशरी एकजना साहित्य सिर्जनाधर्मीको नाम हो, जसले नेपाली साहित्यिक क्षितिजमा आफ्नो व्यस्तताका बाबजुद पनि केही न केही दिइरहेकी छन्, दिइरहन चाहन्छिन्।

वि.संं. १९९७ असार २७ मा चन्डोल, विशालनगर काठमाडौंमा जन्मेकी गीताकेशरीले स्कुलमा पढ्दादेखि नै फुपूको प्रेरणा पाएर निकै लेखिन्, मेटिन्, फालिन् तर पनि हालसम्म लेख्दै आएकी छिन्, यो नै उनको लेखनप्रतिको साहित्यप्रतिको अनुराग हो।

उनले लेख्दै जाँदा कविता, कथा, निबन्ध सबै विधामा आफ्नो कलमलाई तिखारिन् तर २०३४ देखि उपन्यास लेखनमा एकोहोरिइन्। विश्वप्रसिद्ध उपन्यासकार टाल्सटायको आन्ना कारेनिना उपन्यासले ज्यादै प्रभावित भएकी गीताकेशरी उक्त उपन्यासमा चर्चा गरेका पात्रहरूको जीवन–उत्सर्गले आफूलाई छोएको कुरा बताउँछिन्। उनको दृष्टिमा साहित्य खाली शृङ्गार रसले मात्र भरिएको नभई यसमा समाजका लागि केही सन्देश भएको हुनुपर्छ।

त्यसैले समाजमा व्याप्त व्यभिचार, अन्याय, थिचोमिचो, असमानता, नारीका पीर र व्यथा आफूले जसरी बुझेकी छिन्, त्यसरी आफ्ना कृतिहरूमा आफ्नै भाषा र शैलीमा अभिव्यक्त गर्छिन् उनी।

नीलो, पहेँलो, सेतो रङ्ग मन पराउने उनले २०५२ सालमा प्रकाशित विश्वास उपन्यासमा पात्रपात्राहरूमार्फत आफ्नो दृष्टिकोण यसरी व्यक्त गरेकी छिन्– ‘समयअनुसारको मागले पुराना रीतिरिवाजमा परिवर्तन गर्दै गएमा मात्र विकासले जन्म लिन सक्छ।’ विकास कसरी हुन सक्छ भन्नेबारे यो उनको दृष्टिकोण हो। त्यस्तै, नारीसमस्या र नारीबारे नै उनको चिन्तन यस्तो छ– ‘नारीको आपसमा विश्वास नहुनाले नारी नै नारी विकासको अवरोध हुन गएका छन्।’ त्यसैले उनी चेलीको आत्मकथा कविताको अन्तिम हरफमा यसरी आवाज राख्छिन्–
करजोरी म गर्छु बिन्ती, आमाबाबालाई छोरीको जुनी हारेको जुनी नभन हामीलाई।

यसरी नारीवर्गको उन्मुक्तिका लागि उनले पनि उपन्यास, कथा, कविता सबै विधामा आफ्नो भावना पोखेकी छन्। गीताकेशरीले आफ्ना सबै उपन्यासहरूमा धर्तीका, मान्छेका, व्यवस्थाका सन्दर्भहरू विषयवस्तुका रूपमा प्रस्तुत गरेकी छिन्। उनका उपन्यासका पात्रहरूबाट यस्तै समाजपरक चिन्तनहरू पोखिएका छन्। जस्तै उपन्यास कसिंगरमा उनीहरूलाई जे सिकाइएको छ त्यही गर्छन्, जस्तो नीच जातलाई छोए छिटा हाल्नुपर्दछ, तिनीहरूले छोएको पानी खानुहुन्न, उनीहरू बदमास हुन्छन्, त्यसको सङ्गत गरे बिग्रिन्छ आदि भनेर बिच्काउने दृष्टिको यिनले विरोध गरेकी छन्।

‘प्रत्येक ठक्करले बिउँझाउँछ नयाँ जीवन’ भनी कवितामा जीवन–दर्शनको परिचय दिने गीताकेशरी यस्तै सिर्जनामा लागिरहेबापत धरणीधर पुरस्कार, लोकप्रियादेवी पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कार, हृदयचन्द्र स्मृति सिर्जना सम्मान, रुद्रराज पुरस्कार, भीमनिधि तिवारी साहित्य सम्मान, राष्ट्रिय कलाश्री पुरस्कार आदिले सम्मानित भइसकेकी छन्।

२०२१ सालमा कथा लेखेर साहित्यिक क्षेत्रमा देखा परेका यिनी नेराप्रप्रमा सदस्य–सचिवसम्म भई योगदान पुर्याइसकेकी साहित्यकार हुन्। साहित्य सम्बन्धमा यिनले आफ्नो दृष्टि यसरी पोखेकी छिन्– ‘साहित्यले सुषुप्त अवस्थामा रहेको चेतनालाई जगाउँछ, दूरदर्शी बनाउँछ, अनुभवी बनाउँछ।

भावना र शब्दको माध्यमबाट हृदय स्पर्श गर्दै मानवतालाई बिउँझाउँछ र सुमार्गतर्फ अभिमुख पार्दै मानवको परिचयमा आफूलाई उभ्याउँछ।’ उपन्यास लेखनमा सक्रिय अझ भनौं, आफ्नो उपन्यास कृतिबाट उपन्यासकारका रूपमा ख्याति कमाएकी गीताकेशरीको लेखनमा अझ हरियाली छाइरहोस्– शुभकामना भनिरहेछु।

प्रतिक्रिया दिनुहोस्