काठमाडौँ, १५ चैत । साझा प्रकाशन कर्मचारी सङ्घ तथा कर्मचारी सङ्गठनले अध्यक्ष एवम् महाप्रबन्धकले संस्था र कर्मचारीको हितविपरीत निर्णय गरेको भन्दै असहमति जनाएका छन् ।
साझाका कर्मचारी र कर्मचारी सङ्गठनको संयुक्त बैठकले अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थालाई व्यवस्थित र उन्नत बनाउनको विपरीत संस्थाप्रति अनुदार रहेको र कर्मचारीको हितविपरीत निर्णय गरेको भन्दै आपत्ति जनाउँदै विभिन्न माग गरेका छन् ।
साझा प्रकाशन सञ्चालक समितिले गत फागुन १० सार्वजनिक गरेको संस्थामा २० वर्ष सेवाअवधि पुगेको कर्मचारीको अनिवार्य अवकाश गर्ने निर्णय कर्मचारीले तत्काल फिर्ता गर्न माग गरेका छन् । संस्थाका कर्मचारीलाई दिन बाँकी हालसम्मको तलब, सञ्चय कोषलगायतको रकम तत्काल उपलब्ध गराउन माग गरिएको छ ।
त्यसैगरी संस्थाबाट उमेर हदका कारण सेवानिवृत्त तथा स्वेच्छिक अवकाश भएका कर्मचारीको उपदान रकम तत्काल भुक्तानी गर्नुपर्नेजस्ता माग गरिएको छ ।
संयुक्त बैठकले साझा प्रकाशन कर्मचारी प्रशासन नियमवाली २०७३ कर्मचारीको हितविपरीत रहेको भन्दै कर्मचारी प्रशासन नियमवाली २०६८ मा भएका नियम कायम गरी कर्मचारी नियमावलीको संशोधन माग गरेका छन् ।
अध्यक्ष शर्माले आफू अनुकूल ५० जना कामदार राखेको, लेखकलाई रोयल्टीसमेत नदिएको साझा प्रकाशन कर्मचारी सङ्घका अध्यक्ष हरिभद्र घिमिरेले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया