त्रिशूली (नुवाकोट), १५ चैत ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सरकारी कार्यालयका सूचना सम्बन्धित अधिकारीबाट दिने परिपाटीको विकास अझै नभएकाले सूचनाको हकसम्बन्धी अधिकार अझै स्थापित हुन नसकेको बताउनुभएको छ ।
सदरमुकाम विदुरमा आज आयोजित ‘सूचनाको हकसम्बन्धी अन्तक्र्रिया’मा आयुक्त पोखरेलले नागरिकले हरेक विकास निर्माणका काममा आफू संलग्न छु भन्नका लागि पनि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउँदै भन्नुभयो, “सूचनाको हक सामाजिक न्यायको महत्वपूर्ण औजार हो । नागरिकलाई सूचनाको हक दैनिक जीवनसँग जोडिने अधिकार हो भनेर बुझाउन सक्नुपर्छ ।”, उहाँले भन्नुभयो ।
उहाँले सार्वजनिक निकायअन्तर्गत सरकारी कार्यालयले मात्र होइन, सामाजिक सङ्घसंस्थालाई पनि आफ्नो कार्यालय र सार्वजनिक चासोको विषयमा नागरिकले मागेका सूचना उपलब्ध गराउन निर्देशन दिँदै राजनीतिक दलले समेत नागरिकले मागेका सूचना उपलब्ध गराउनका लागि प्रचार विभाग वा प्रवक्ता तोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष नारायणप्रसाद खतिवडाले काम गर्ने निकायका मानिसले सूचना लुकाउने प्रवृत्तिको अन्त्य भएमा सहजै रुपमा सूचनाको हक कार्यान्वयन हुने बताउनुभयो । नेपाली काँग्रेसका सचिव सुरेन्द्रराज अधिकारीले सूचनाको हक कार्यान्वयन गर्नका लागि सूचनादाता र सूचना प्रापक दुवै उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
प्रजिअ विष्णुप्रसाद पोखरेलले सूचनाको हकलाई कार्यान्वयन गराउनका लागि सरकारी निकाय तथा सङ्घसंस्था बढी गम्भीर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सचिव (स्थानीय विकास अधिकारी) केशरबहादुर पण्डित, नेकपा (माओवादी केन्द्र)का सुभद्रा नेपाल, नेपाल पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष प्रकाश अधिकारीलगायतले सूचना पाउने अधिकारबाट सर्वसाधारण वञ्चित भएको गुनासो गर्नुभएको थियो । रासस
प्रतिक्रिया