विद्यार्थी राजनीति र स्ववियु



खेमराज निरौला

विगत ७–८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन विभिन्न असहज एवं तनावपूर्ण वातावरणमा आंशिकरूपमा भए पनि गत महिना सम्पन्न भयो। सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा एकसाथ हुनपर्नेमा ६० वटा आंगिकमध्ये २३ वटामा र करिब २ य सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन सम्पन्न भएर मुख्य तीन विद्यार्थी संगठनले नेतृत्व लिएका छन्। ८ वर्षपछि विद्यार्थी संगठनहरू आ–आफ्ना चुनावी मुद्दा लिएर विद्यार्थीमाझ प्रस्तुत भई आपूmलाई अब्बल साबित गर्ने कसरतमा संघर्षरत रहे। तर जसरी सहज र सौहार्दपूर्ण वातावरणमा चुनाव हुनुपर्ने हो, त्यो हुन सकेन। तोडफोड, आगजनी, धाकधम्की, अपहरणजस्ता अलोकतान्त्रिक गतिविधिहरू पनि प्रशस्तै भए यसपटकको स्ववियु चुनावमा।
यी घटनाले के सन्देश दिएको छ भने, विद्यार्थी संगठनहरू स्वच्छ प्रतिस्पर्धा भन्दा पनि अराजक र उद्दण्डताको बाटोतर्पm उन्मुख भएको देखाएको छ। शैक्षिक मुद्दा हैन, तिनका माउपार्टीका नीति र सिद्धान्त बोकेर चुनावी मैदानमा होमिए। ती संघ⁄संगठनभित्र पनि एकले अर्कोलाई नटेर्ने, धम्क्याउने, आफ्नो प्रभुत्व जमाउने, दादागिरी देखाउने जस्ता उद्दण्ड क्रियाकलापले स्ववियुको औचित्यमाथि नै बहस चलाउनुपर्ने हो कि भन्नेसम्मको अवस्था सृजना भयो।

नेपालको हरेकजसो प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीको भूमिकालाई कम महत्व दिन सकिँदैन। त्यसमा पनि निरङ्कुश पञ्चायती शासनलाई धराशायी बनाउन विद्यार्थीले खेलेको भूमिका कसैबाट लुकेको छैन। अझ भनौं, विद्यार्थीको प्रभावकारी उपस्थितिले वि.सं. २०३६, २०४६ र २०६२⁄६३ सालका प्रजातान्त्रिक आन्दोलनहरू सफलताको शिखरमा पुगेका हुन्। अहिलेका मुख्य दलका कतिपय मन्त्रीहरू विद्यार्थी राजनीतिबाटै आ–आफ्ना पार्टीका उपल्लो तहमा पुगेका छन्। तर स्ववियुको मर्यादा र औचित्य भने खस्किँदै गएको छ। यसलाई रचनात्मक बनाउनेतर्पm कसैको ध्यान पुग्न सकेको छैन। यसको प्रमुख कारक तत्व भनेको हाम्रा विद्यार्थी संघ⁄संगठनहरू नै हुन्। स्ववियुलाई जुन हदसम्मको विद्यार्थीको साझा फोरम बनाउनु पथ्र्यो, त्यो बनाउन सकिएन। सकियो त केवल आफ्नो राजनीतिक ‘करिअर’ बनाउन र त्यसबाट आफ्नो राजनीतिक भविष्य सुनिश्चित बनाउन।

विद्यार्थी आफ्ना अध्ययन–अनुसन्धानमूलक कार्यमा भन्दा राजनीतिक दलकै सहायक भएर क्रियाशील छन् स्ववियुको नाममा। उनीहरूका गतिविधि कुनै प्राज्ञिक मुद्दामा हैन कि कसरी प्रतिद्वन्द्वीलाई पछाडि पार्न सकिन्छ भन्नेमा नै केन्द्रित भएका छन्। कसरी आफ्नो प्रभाव बलियो बनाउन सकिन्छ भन्नेमा नै केन्द्रित भएका छन्। अन्य विकसित मुलुकमा पनि विद्यार्थीका हकहितका मुद्दा उठाउन विद्यार्थीका युनियन हुन्छन्। उनीहरू कुनै पनि पार्टीको विश्वासिलो पात्र बन्नका लागि संगठन गर्दैनन्। विद्यार्थी हकहितका मुद्दा उठाउन स्ववियु स्थापना गरिए तापनि विद्यार्थीका हकहितका कुरा यहाँ ओझेलमा परेका छन्। स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले आ–आफ्नो राजनीतिक प्रतिष्ठाको विषय बनाएकाले पनि यहाँ अवाञ्छित गतिविधिहरू बढ्ने गरेका छन्।

कुनै पनि हालतमा आफ्नो प्रभाव क्षेत्रमा चुनाव जित्नै पर्ने अप्रजातान्त्रिक सोचले विद्यार्थी युनियनमा राजनीतिक प्रभाव बढी पर्ने गरेको छ। अब स्ववियुको नेतृत्व सम्हाल्ने विद्यार्थी संघ–संगठनहरूले नितान्त फरक ढंगले सोच्नुपर्ने वेला आएको छ। अहिले हाम्रा विश्वविद्यालय र क्याम्पसहरूमा टड्कारो देखिएको समस्या भनेको नियमित कक्षा सञ्चालन नहुने, हेल्मेट शिक्षक हुने, चरम राजनीतीकरण हुने गुणस्तर खस्कँदै जाने, शैक्षिक क्यालेन्डर प्रभावकारी ढंगले लागू नहुने नै हुन्। साथै भूकम्पले ध्वस्त पारेका शैक्षिक संरचना र पुस्तकालयहरू मर्मत एवं पुनर्निमाणमा सुस्तता पनि प्रमुख चुनौतीको रूपमा रहेका छन्। यसतर्फ गम्भीर भएर सोच्नुपर्दछ।
राजनीतिलाई नै आफ्नो प्रमुख गन्तव्य ठान्ने सीमित व्यक्तिका लागि विद्यार्थी राजनीति फलदायी बन्ला तर देशका विकट ठाउँ र कुनाकाप्चाबाट लाखौं खर्च गरेर उच्च शिक्षाको अभिलाषा पूरा गर्ने उद्देश्यले विश्वविद्यालय छिरेका धेरै विद्यार्थीका लागि राजनीतिको के अर्थ रहला ? सीमित व्यक्तिका राजनीतिक स्वार्थ पूरा गर्नका लागि लाखौं विद्यार्थीको भविष्य बरबादीतिर धकेल्नु कदाचित राम्रो काम हुँदैन। दलीय राजनीतिले विश्वविद्यालयहरू तहसनहस भएको यथार्थता कसैबाट लुकेको छैन। जसले गर्दा विश्वविद्यालय शिक्षाको गुणस्तरीयतामा नै प्रश्न उठ्ने गरेको छ। तसर्थ देशको उच्च शिक्षाको गुणस्तरलाई उठाउने हो भने राजनीतिक दलहरूले तिनका भ्रातृ संगठनहरूलाई आ–आफ्ना राजनीतिक अभिष्ट पूरा गर्न भन्दा पनि समग्र शैक्षिक दुरावस्थाको सुधारका निम्ति प्रयोग गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्