नियम विपरित काठ दाउरा बेचिंदा उपभोक्ता आक्रोसित



भद्रपुर, १४ चैत्र ।
झापाको सदरमुकाम भद्रपुरमा रहेको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले नियम विपरित कमिसनको खेलमा काठ दाउरा वेचेपछि उपभोक्ताहरु आक्रोसित भएका छन् ।

समितिको विधानले तय गरेको नियम विपरित तथा साधारण सभाको आदेश विपरित काठ दाउरा विक्री वितरण गरी समितिका अध्यक्ष र सचिवले नियम विपरित कमिसनको लोभमा व्यापारीलाई गोलिया काठ दाउराका रुपमा बिक्री गरेको भन्दै उपभोक्ता आक्रोसमा उत्रिएका हुन् ।

गत कार्तिक मसान्तमा नै पदावली समाप्त भएको सो समितिले विधानले चैत्रसम्म काम गर्न नरोकेको भन्दै आफूखुसी कमाउ धन्धाका रुपमा काम गरिरहेको उपभोक्ताको गुनासो छ । चार वर्षे कार्यकाल कार्तिक मसान्तमा सकिएको समितिले अर्को निर्वाचन स्थानीय निर्वाचनले प्रभावित भएपछि कमाउ धन्धा सुरु गरेको हो ।

पछिल्लोपटक घाट गद्दी खाली गर्ने बाहनामा समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई र सचिव सन्तोष पोखरेलले २० चट्टा गोलिया दाउराका रुपमा स्थानीय व्यापारी राजु खड्का, रत्नबहादुर भण्डारी र गणेश भण्डारीलाई प्रति चट्टा २५ हजारका दरले अवैध रुपमा विक्री गरेको खुलेपछि स्थानीय उपभोक्ता आन्दोलनमा उत्रिएका हुन् ।
विभिन्न उपभोक्ता र चन्द्रगढी स्थित विश्रान्ति दाहसंस्कार गृहका लागि सहुलियतमा दाउरा दिएको निर्णय पुस्तिका बनाएर अध्यक्षकै निर्देशनमा सचिव पोखरेलले विक्री गरेको विक्री समितिका सदस्यहरुको भनाइ छ ।

सचिवको संयोजकत्वमा रहेको नौ सदस्यीय बिक्री समिति मध्ये कसैलाई पनि दाउरा व्यापारीलाई बेच्ने निर्णय र बेचिएको थाहा नभएपछि कमिसनतन्त्र रहस्यमय रुपमा बाहिर आएको हो । कागजी रुपमा एउटा निर्णय गर्ने व्यवहारिक रुपमा अर्कै काम गर्ने वन समितिले उपभोक्ता मैत्री काम नगरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

बिक्री समितिका सदस्य ध्रुव कार्कीका अनुसार वनको विधानले उपभोक्तालाई सर्वै सर्वा बनाएको भए पनि समितिका अध्यक्ष र सचिवको मनोमानीमा काठ दाउरा अवैध बिक्री वितरण भइरहेको हो । उनले पछिल्लो पटक चन्द्रढीको शेखरको मिलमा अवैध रुपमा आइपुगेको चिरान काठ समितिको निर्णयले नबेचिएको भन्दै आफूलाई जानकारी नरहेको जनाए ।

शनिवार दिउँसो चिरानका लागि शेखर कँडेलको मिलमा दुई ट्याक्टर काठ झरेपछि कँडेलले कागज पत्र माग गर्दा काठ ल्याउने व्यक्तिले कागज पत्र देखाउन सकेनन् । कँडेलले स्थानीय केही उपभोक्ताहरुलाई बोलाएर काठ बारे जानकारी दिएपछि सो क्षेत्रका उपभोक्ताको भेलाले वन समितिका अवैध कारोवारी विरुद्ध प्रतिकारमा उत्रने निर्णय गरेका छन् ।
उपभोक्ता शिवप्रसाद भट्टराइले उपभोक्ताले माग गर्दा ५ कुइण्टल दाउरा नपाउने तर कमिशन दिने व्यापारीहरुलाई कागज मिलाएर कमिशनमा बेच्ने समितिको औचित्य नरहेकोले कार्वाही हुनु पर्ने माग राखे । यस्तै अर्का उपभोक्ता पशुपति सुवेदी काठ माग गर्दा नियम खोजी गर्ने तर नियम मिचेर कमिशनका पछि लाग्ने समितिका पदाधिकारीलाई कार्वाही गर्नै पर्ने माग राखे ।

यस विषयमा बुझ्दा समितिका सचिव सन्तोष पोखरेलले काठ मिलवालाहरुले काठ दाउरा खरिद गर्न नपाएको रिस समितिमा पोख्दा समस्याका रुपमा आएको बताए । उनले समितिले निर्णय गररै दाउरा बेचेको दाबी समेत गरे ।

यस विषयमा जानकारी लिन खोज्दा जिल्ला वन कार्यलय झापका प्रमुुख बोधराज सुवेदीले भने समितिले तोकिएको प्रयोजन भन्दा वाहिर गएर आफु खुसी काठ दाउरा वेच्न नपाउने भन्दै यस्तो पाइएमा कारवाही गरिने वताए । उनले कुनै पनि वन समितिहरुले समितिका पदाधिकारीको व्यक्तिगत फाईदाका लागि वा व्यापारिक प्रयोजनका लागि भनेर काठ दाउरा वेच्न नपाईने वन ऐनले स्पष्ट पारेको जनाए ।
वार्षिक साधारण सभामा समितिका हरेक कृयाकलाप र स्रोतहरुको अनुमोदन नगरी समितिले काम गर्न नपाउने नियम विपरित समिति चलेको भन्दै उपभोक्ताहरुले आक्रोस पोख्ने गरेका छन् । यस पटक विक्री गरी चिरानका लागि झरेको दाउराबाट व्यापारिक गिरोहले २ सय क्युफिट बढी काठ निकाल्ने चिरान कर्मचारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्