चिनियाँ नेतासँग सद्भाव अभिवृद्धि गर्न प्रधानमन्त्रीलाई सुझाव



काठमाडौँ, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तरी छिमेक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमण थाल्नुअघि आज पूर्वप्रधानमन्त्री तथा चीन मामिलाका विज्ञहरुसँग छलफल गर्नुभएको छ ।

आज चीन भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री दाहालले आफूले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ता र आपसी चासोका विषयमा उहाँको सरकारी निवासमा पूर्वप्रधानमन्त्री तथा विज्ञसँग सुझाव लिनुभएको हो ।

बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री तथा विज्ञ तथा व्यवसायीलाई स्पष्ट पारिएको जानकारी दिनुभयो ।

चीनको हाइनान प्रान्तको बोआओमा यही चैत १०–१३ गतेसम्म हुने एसियाको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । सो क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिनसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री महतले दुई देशबीच सहयोगको क्षेत्र कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा नेपालको तयारी पूरा भएको छ तर अहिले प्राविधिक कारणले सम्झौता भने नहुने बताउनुभयोे । उहाँले भन्नुभयो, “दुई देशको कनेक्टिभिटी, कोदारी सडक, स्याफ्रुबेसी मार्ग र वन बेल्ट वन रोड लगायतका विषयमा छलफल भयो ।”

बैठकमा सहभागी पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई देशबीच सद्भाव अभिवृद्धि गर्न सम्पूर्णरुपले ध्यान केन्द्रित गर्नुहोस् भनेर आपूmहरुले सुझाव दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई देशबीच विकास र सहयोगका धेरै सम्भावना छन् । त्यो सम्भावनालाई ध्यानमा राखेर जानुपर्छ । यस बीचमा चिसिन खोजेको भ्रमणलाई न्यानो बनाउन सक्नुभयो भने सफल हुन्छ भन्ने हाम्रो विश्वास छ ।” बैठकमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अहिले चीन र भारतसँगको सम्बन्धमा विश्वासको कमी भएर गएकाले सद्भाव बढाउन सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वासको सङ्कट हुन थालेको अवस्थामा यस्ता भ्रमणको मूल उद्देश्य विश्वास आर्जन गर्ने हो, सद्भाव बढाउने हो ।” रासस

प्रतिक्रिया दिनुहोस्