यौनधन्दा चलाउने होटल सञ्चालकहरु पक्राउ



हेटौंडा,(नेस)-हेटौंडा नगर क्षेत्रका होटलहरुमा हुनसक्ने अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि गरिएका निगरानीका क्रममा किशोरी तथा महिलालाई यौनधन्दा गर्न बाध्य बनाएर रकम असुल गर्दै आएका सञ्चालकहरु बल्ल पक्राउ परेका छन् । हेटौंडामा प्रहरीले व्यापक दबाबपछि अनुगमन गरेको हो ।

यौनधन्दा चलाएर होटल सञ्चालकहरुले रकम असुल गर्ने गरेको विशेष सूचनाका आधारमा मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले होटल सञ्चालकहरुलाई पक्राउ गरेको हो ।

हेटौंडा–१० स्थित धादिङ होटल एण्ड लजबाट १८ वर्षीया एक किशोरीलाई जबर्जस्ती यौन कार्य गर्न बाध्य बनाएको अवस्थामा प्रहरीले उद्दार गरी होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । होटल सञ्चालकलाई मानव बेचबिखनअन्तर्गत् मुद्दामा बुधबार म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार नै साविक गढी गाविस–९ (हाल मकवानपुरगढी गाउँपालिका) स्थित सामरी रिभर रेष्टुरेण्ट एण्ड लजबाट २२ वर्षीया एक महिलालाई यौन कार्य गराउन बाध्य बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ । उक्त लजका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त होटल सञ्चालकलाई पनि मानव बेचबिखनअन्तर्गत् मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्