डरैडरमा पढाइ



हेटौंडा,(नेस)

कृषि तथा बनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, प्रशासक र जिल्ला तहका राजनीतिक दलका नेता, विभिन्न सरोकारवाला व्यक्तिहरु क्याम्पसको सम्पत्ति र ‘प्रतिष्ठा’ का लागि कानुनी लडाईं गरिरहेका बेला कृषि तथा बनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले भने १७ औं बन दिवसको अवसरमा एकसाथ कार्यक्रम गरेका छन् ।

कृषि तथा बनविज्ञान विश्वविद्यालयअन्तर्गत् हेटौंडास्थित बनविज्ञान संकायका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत् बनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका विद्यार्थीहरु उल्लासपूर्णरुपमा सहभागी थिए ।

बन दिवसको अवसरमा विद्यार्थीहरुले र्याली सहित सचेतनामूलक सडक नाटक मञ्चन गरेका छन् । गालाभरि रुख÷बिरुवाको चित्र कोरेका विद्यार्थीले ‘हरियो बन, नेपालको धन’ भन्दै निकालेको र्यालीले नगर परिक्रमा गरेको थियो ।

र्यालीका सहभागीले बुद्धचोकमा सन्देशमूलक सडक नाटक मञ्चन गरेका थिए । बन्यजन्तु र बनसम्बन्धि अध्ययन गरेका विद्यार्थीहरुले आफूहरुले क्याम्पसदेखि कार्यक्षेत्रसम्म चुनौतीहरुलाई पन्छाउँदै पढिरहेको बताए ।

पढ्न क्याम्पसमा छात्रावास तथा पुस्तकालयसम्म समस्या र भेदभाव भोग्नुपरेको विद्यार्थीको गुनासो छ । पाल्पाबाट बनविज्ञान विषय अध्ययनका लागि हेटौंडा आउनु भएकी कामना पराजुलीका अनुसार वातावरण जोगाउने र आफ्नो करिअर बनाउने दुवै अवसर मिल्ने भएकाले बनविज्ञान विषय पढेको बताउनुभएको छ । तर, धेरै टाढाबाट यहाँ आउँदा पनि पढ्न क्याम्पसमा धेरै समस्या रहेको उहाँ बताउनुहुन्छ । पराजुलीका अनुसार भनेजस्तो रिसर्च ल्याब नभएको र छात्रावासमा डराइडराइ बस्नुपर्ने जस्ता समस्या छ ।

राजनीतिले अस्तव्यस्त बनाएको क्याम्पसमा विद्यार्थीको भन्दा पनि राजनीतिको मुद्दा बढी आउँदा समस्या यथावत् रहेको पराजुलीको भनाइ छ । पराजुली विदेशमा समेत राम्रो अवसर हुने विषय पढ्न क्याम्पसकै आन्तरिक समस्याले प्रभाव पारेको बताउनुहुन्छ ।

दाङबाट पढ्न आउनुभएका ओमकान्त भट्टराई क्याम्पसमा असुरक्षा भएको बताउनुहुन्छ । भट्टराईले गम्भीर हुँदै भन्नुभयो– स्तरीय शिक्षा भनेर टाढाबाट पढ्न आउँदा भेदभाव र असुरक्षा महसुुुस हुँदा दुःख लाग्छ । उहाँले कृषि तथा बनविज्ञान विश्वविद्यालय (एएफयु) का विद्यार्थीहरुलाई पुस्तकालय छिर्न नदिँदा नराम्रो लागेको बताउनुभयो । छात्रावासमा असुरक्षा रहेको भन्दै भट्टराईले चिन्ता व्यक्त गर्नुभयो । राजनीति र अन्य कुराहरुमा सरोकारवाला एक भए पनि विद्यार्थीका समस्या समाधान गर्न सबै उदासिन भएको आरोप भट्टराईको छ ।

छात्रावासमा रहेका विद्यार्थीको कपडा, ल्यापटप चोरी हुने घटना भइरहने गरेको विद्यार्थीले बताएका छन् । सुरक्षाको खाँचो रहेको भन्दै उहाँले निर्धक्क भएर पढ्ने वातावरण बनाउने काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

ओखलढुंगाबाट आउनुभएकी सुष्मिता दाहाल बनविज्ञान विषयमा धेरै अवसर देखेर पढ्न आएको बताउनुहुन्छ । दाहालले विकराल अवस्थामा रहेको जलवायु परिर्वतनको असरबारे बुझेर केही गर्ने सोच लिएर पढेको बताउनुभएको छ । बन क्षेत्रमा राम्रो अवसर र भविष्य देखेर पढे पनि चुनौतीहरु भोग्न पछि नहट्ने सोच बनाउनुभएकी दाहालले क्याम्पसमा हुने राजनीतिलाई मौसमी राजनीति भएको र यसले केही प्रभाव पारे पनि सकारात्मक काम गर्ने बताउनुभयो ।

स्थानीय मानिसहरुको साथ र सहयोग पाए बनविज्ञान क्षेत्रमा कुनै समस्या नरहेको तर स्थानीयको साथ र सहयोग भएन भने बन क्षेत्रमा धेरै समस्या रहने, बन तस्करहरुको समस्या हुने बताउनुभएको छ । हेटौंडाका विद्यार्थी सुजन खतिवडाका अनुसार छात्रावासमा बस्नेहरुलाई असुरक्षा महसुस गरेका छन् । खतिवडाका अनुसार क्याम्पस प्रशासन र शिक्षकबीच अन्तद्र्वन्द्वले विद्यार्थीको पढाइ प्रभावित पारिरहेको छ ।
बाहिर जेजस्तो स्थिति र वातावरण भए पनि क्याम्पसभित्र विद्यार्थीमैत्री सुरक्षित वातावरण, रिसर्च सेन्टर, प्रयोगात्मक शिक्षामा जानकारी, पुस्तकालय सुविधा तथा अन्य शैक्षिक र पर्यावरणीय अवलोकनको अपेक्षा विद्यार्थीको छ ।

प्रतिक्रिया दिनुहोस्