फोहोर होटलमा सरकारी सिल



हेटौंडा,(नेस)-क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सरोकारवाला निकायको सहभागितामा हेटौंडामा होटलहरुको अनुगमन गर्ने क्रममा हेटौंडा–११, थानाभ¥याङस्थित आशीर्वाद एसी फुड होममा अत्यधिक फोहोर र व्यवस्थापन नभएको भन्दै ३ दिनको लागि सिल गरिदिएको छ ।

होटल आशीर्वाद एसी फुड होममा रातो स्टिकर लगाएर बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखको समेत सहभागितामा भएको अनुगमनमा होटल दर्तासमेत नभएको, गोदाम तथा भान्छा अत्यन्त फोहोर भएका कारण अनुगमन टोलीले सफा गर्न र दर्ता गर्न भन्दै बन्द गरेको हो ।

अनुगमनका क्रममा होटलको सेवा गुणस्तर हेरेर स्टिकर टाँसिएको छ । राजमार्गको हिलटप होटलमा सरसफाइ तथा व्यवस्थापन ठीकै भएकाले मध्यम स्तरको स्टिकर टाँसिएको छ । हेटौंडा–११, थानाभ¥याङको होटल वैशालीमा पनि मध्यमस्तरको स्टिकर टाँसिएको छ । एसी फुड होम होटलमा व्यवस्थापन र सरसरफाइमा धेरै सुधार गर्नुपर्ने भन्दै न्यूनस्तरको स्टिकर टाँसिएको छ ।

थानाभ¥याङकै इस्टवेष्ट होटलमा यसअघि स्टिकर नटाँसेको तर फोहोर भएको तथा यात्रु आउनुअगावै खाना पस्किने गरेको पाइएकोले उक्त होटलमा न्यूनस्तरको स्टिकर टाँसिएको छ । पूर्वपश्चिम राजमार्गको थानाभ¥याङको महाकाली दीपज्योति होटलमा मूल्यसूची नराखिएको तथा सरसफाइको अवस्था, गोदाम अस्तव्यस्त भएको पाइएको छ ।
अनुगमनका क्रममा हेटौंडाको होटल एभाकाडोमा सरसफाइ र व्यवस्थित भेटिएको थियो । उक्त होटलमा उत्कृष्टस्तरको होटलको हरियो स्टिकर टाँसिएको हो । अनुगमन गरिएका अधिकांश होटलको भान्छा फोहोर तथा असुरक्षित पानी प्रयोग भएको पाइएको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटलहरुको स्तर मापन गर्दै उच्चस्तरको होटलका लागि हरियो, मध्यमस्तरका लागि पहेंलो भुईंमा एउटा रातो गोला भएको स्टिकर, न्यूनस्तरको पहेंलो भुईंमा दुईवटा रातो गोला भएको स्टिकर, बन्द गर्नुपर्ने स्तरका लागि रातो स्टिकर लगाउने गरेको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको संयोजनमा भएको अनुगमनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मादुवाडी, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार लामा, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख राजकुमार रिजाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नासु सहदेव आचार्य, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रणवप्रसाद अर्याल, होटल एसोसिएसन मकवानपुर अध्यक्ष भगीरथ शर्मालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्