हेटौंडाको मेयरमा चासो र चर्चा



हेटौंडा,(नेस) ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरमा उम्मेदवारहरुबारे छलफल शुरु भएको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विभिन्न पार्टीका नेता उम्मेदवार बन्न छलफल शुरु भएको हो ।

पछिल्लो समय हेटौँडा उपमहानगरपालिकाको मेयर को होला भन्नेमा धेरैको चासो छ । मकवानपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, नयाँ शक्तिलगायत पार्टीमा उपमहानगर मेयरका लागि आन्तरिक दौडधुप चलिरहेको छ ।

पार्टी संस्थागतरुपमा कसलाई उम्मेदवार बनाउँदा विजयी हासिल गर्न सकिन्छ भनेर आन्तरिक तयारीमा जुटेको छ भने उम्मेदवारका आकांक्षीहरु आफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन् । विशेषगरी कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रमा बढी रस्साकस्सी छ भने माले र नयाँ शक्तिलगायत पार्टीमा कम दौडधुप देखिन्छ ।

कांग्रेसमा उम्मेदवारीका लागि पार्टीको छलफल नभए पनि आकांक्षीहरु पार्टी सभापति एवम् गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्पर्कमा छन् । बानियाँले ‘काम गर्नेलाई उम्मेदवार बनाउने’ उद्घोष गरेसँगै पछिल्लो समय पार्टी अभियानमा नेताहरुको दौडधुप देखिन थालेको पार्टी कार्यकर्ताहरुले महसुस गरेका छन् ।

कांग्रेसमा वर्तमान नगर सभापति आनन्दराम पराजुली र पार्टी प्रवक्ता प्रदीप कोइरालाको नाम चर्चामा छ । निर्माण व्यवसायी संघका अध्यक्षसमेत रहेका पराजुलीलाई पार्टीले उम्मेदवार बनाउने धेरैको आंकलन छ । पार्टीले जिम्मेवारी दिए आफू जनताको हितमा खटिने उनले बताउँदै आएका छन् । कांग्रेस पूर्वउपसभापति अशोक शाक्य पनि आकांक्षीका रुपमा रहेको उनी निकटले बताए ।

जिल्लामा बलियो उपस्थिति रहेको नेकपा एमालेमा विगतका मेयर डोरमणि पौडेलको नाम ओझेलमा परेको छ । एमालेमा पूर्वउपमेयर हरिबहादुर महतको नाम हाल चर्चामा छ । ओली वा नेपाल कुनै पनि गुटमा नरहेका महतले आफू मेयरको आकांक्षी उम्मेदवार रहेको सार्वजनिकरुपमा भन्दै आएका छन् । पार्टी अध्यक्ष मुनु सिग्देलले पनि मयेरको आकांक्षा राखेको पार्टीस्रोतको भनाइ छ ।

माओवादी केन्द्रमा हालसम्म खुलेरै उम्मेदवारका रुपमा प्रस्तुत गर्ने भेटिएका छैनन् । केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने प्रकाश पाण्डे मेयरको उम्मेदवार बन्न सक्ने एक नेताको भनाइ छ । पत्रकार एवम् पुराना नेता कौशल पाण्डेलाई उम्मेदवार बनाउनुपर्ने केहीको प्रस्ताव छ । केन्द्रमा सागर बानियाँ र बालकृष्ण चौलागाईंले समेत आकांक्षा गरेको जनाइएको छ ।

राप्रपामा मेयर बन्नेको नाम करिव निश्चित भएको जिल्ला तहका एक नेताको भनाइ छ । राप्रपाबाट संविधानसभा निर्वाचनका प्रत्यासी दीपकबहादुर सिंह नै मेयरको उम्मेदवारका रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ । सिंहबाहेक अन्य दललाई ‘टक्कर दिने’ उम्मेदवार नरहेको भन्दै उनलाई पार्टीबाट ग्रीन सिग्नल दिइसकिएको उनी निकट नेताको भनाइ छ ।

पार्टी केन्द्रीय सदस्य सिंह वडाहरुमा हुने कार्यक्रममा बाक्लो उपस्थित हुन थालेका छन् । यसअघि चर्चामा रहेका पार्टी नगर अध्यक्ष गुरुप्रसाद सापकोटालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पार्टीमा छलफल भइरहेको जनाइएको छ ।

नेकपा मालेमा पार्टी सचिव भीमसेन महत मेयरको उम्मेदवार बन्नसक्ने जनाइएको छ । हेटौंडा उपमहानगरपालिका र हेटौंडा–काठमाडौं सुरुङमार्गमा भएको ‘भ्रष्टाचार’ को विरोधमा खुलेर अभियान जारी राखेका उनी युवापुस्तामा छाएका नेता मानिन्छन् । उपयुक्त समयमा उम्मेदवारको नाम सार्वजनिक गरिने उनले बताए ।

नयाँ शक्ति पार्टीलाई जनमत जाँच्ने पहिलो अवसर स्थानीय तह निर्वाचन भएकाले उसले जनतामाझ परिचित व्यक्तित्वलाई उम्मेदवारका रुपमा प्रस्तुत गर्ने तयारी गरेको छ । स्रोतका अनुसार मेयरमा नयाँ शक्तिले सामाजिकरुपमा परिचित व्यक्तित्वको खोजी गरिरहेको छ । नेताहरु राजेन्द्र सिम्खडा र राजन मैनालीको नाम चर्चामा छ ।

उनीहरुले वैशाख १६ गते मनोनयन दर्ता गर्नेछन् र वैशाख ३१ गते लागि मतदान हुनेछ । मतदाताले कसलाई भोट दिनेछन्, नतिजाले देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस्