बन डढेलो नियन्त्रणका उपायहरु



हेटौंडा,(नेस) ।
जंगलको संरक्षण  र सबल व्यवस्थापन गर्नेलाई काठदाउरा प्रशंसास्वरुप प्रदान गर्ने व्यवस्था गरिए बन डढेलो नियन्त्रण हुने सुझाव दिइएको छ ।

कानुनमा बनमा डढेलो लगाउनेलाई १० हजार जरिवाना र १ वर्षसम्मको कैद सजाय तोकिएको छ । तर पनि जानाजान बनमा डढेलो लगाउने क्रम रोकिएको छैन । मकवानपुरमा ६४ प्रतिशत बन डढेलो जानाजान लगाउने गरिएको एक तथ्यांकले देखाएको छ । यस अवस्थामा डढेलो रोक्न यस्तो उपाय सुझाइएको हो ।

बन डढेलो व्यवस्थापनसम्बन्धि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् हेटौंडामा भएको अन्तत्र्रिmयामा प्रस्तुत कार्यपत्र अनुसार ३२ प्रतिशत बन डढेलो अञ्जान वा हेलचेक्रयार्इंका कारण र ४ प्रतिशत डढेलो अन्य कारण लाग्ने गरेको छ । मकवानपुरमा पछिल्लो वर्ष दुई सय २६ स्थानमा डढेलो लागेको थियो । यद्यपि, सन् २००१ मा जिल्लाको ३४ स्थानमा मात्र डढेलो लागेको थियो । सन् २००१ देखि बन डढेलो लाग्ने क्रम वर्षेनि बढ्दै गएको देखिन्छ ।

गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष कृष्ण धितालले डढेलो नियन्त्रणका लागि बनको पत्कर निकाल्ने तथा सुकेका काठदाउरा निकाल्नुपर्ने बताए । उनले जंगलको पत्कर व्यवस्थापन गर्नेलाई काठदाउरा प्रशंसास्वरुप प्रदान गर्ने व्यवस्था गरिए बन डढेलो नियन्त्रण हुने सुझाव दिए ।

बन प्राविधिक किरण तिमल्सिनाले सन् २००१ देखि २०१६ सम्मको बन डँढेलोको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बनमा नयाँ पालुवा पलाउने तथा खेतबारी मलिलो हुन्छ भन्ने गलत मान्यताका कारण जंगलमा जानाजान डढेलो लगाउने गरिएको भन्दै त्यस्तो कार्र्य निरुत्साहित गरिनुपर्नेमा जोड दिए । चरिचरनमा जाने गोठालो तथा बनमा चुरोट सेवन गरेर ठुटो फ्याँक्ने कारण अधिकांश डढेलो लाग्ने गरेको तिमल्सिनाले बताए ।

जिल्ला बन कार्यालयका सहायक बन अधिकृत विशाल भट्टराईले जिल्लाको बन डढेलोको अवस्था र नियन्त्रणका लागि कार्यालयले गरेको कामबारे प्रस्तुति गरेका थिए ।

उनका अनुसार जिल्लाका ५४ प्रतिशत बन डढेलोको हिसाबले अति संवेदनशील छ । ४१ प्रतिशत बन संवेदनशील र ५ प्रतिशत बनमात्र कम संवेदनशीलअन्तर्गत् छन् । मकवानपुरमा एक लाख ४४ हजार हेक्टरमा बनक्षेत्र फैलिएको छ । जसमध्ये राईगाउँ, धियाँल, फापरबारी, छतिवन, चुरियामाई, सरिखेतलगायत क्षेत्र बन डढेलोको हिसाबले अति संवेदनशील क्षेत्र भएको बताइएको छ ।

चुरे क्षेत्र तथा पतझर वनमा डढेलो धेरै लाग्ने गरेको बन कार्यालयले जनाएको छ । वर्षेनि बनमा डढेलो लाग्ने क्रम बढे पनि नियन्त्रणका लागि दक्ष जनशक्ति र आधुनिक स्रोतसाधन कमीले समस्या भएको छ ।

हिउँदयाम सुरु भएसँगै मानवीय तथा प्राकृतिक कारण बनमा डढेलो लाग्ने भए पनि दक्ष प्राविधिक र जनशक्ति अभावले नियन्त्रण गर्न कठिनाइ भएको बताइएको छ ।

बन डढेलो नियन्त्रणका लागि सरकारी तवरबाट संघसंस्था परिचालन, विद्यालय सचेतना, सूचना बोर्ड व्यवस्थापनलगायत काम भए पनि तथ्यांकअनुसार बन डढेलो लाग्ने क्रम बढ्दो छ । डढेलो निभाउने सुरक्षित साधन अभावमा स्याउला तथा अन्य घरायसी तरिकाबाट डढेलो निभाउने काम गरिरहनु परेको प्राविधिकको भनाइ छ । सीमित स्रोतसाधन र भौगोलिक विकटताले डढेलो नियन्त्रणमा कठिनाइ भएको बताइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले डढेलो लागेपछि नियन्त्रण गर्नुभन्दा पनि डढेलो लाग्न नदिनु उत्तम हुने बताए । डढेलो नियन्त्रणका लागि दक्ष जनशक्ति र स्रोतसाधन कमी भएको भन्दै दुवाडीले परम्परागत उपाय अवलम्बन गरी डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्