सुन्तला भण्डारण



बाबियाचौर (म्याग्दी), २९ फागुन । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन (सेलार स्टोर)मा सुन्तला भण्डारण गरेका हुन् । भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताउनुभयो ।

बिरौटामा रहेको सेलार स्टोरमा यस वर्ष १५ कृषकले तीन हजार किलोग्राम सुन्तला भण्डारण गरेका छन् । पुसमा बोटबाट टिपेको सुन्तला चैत–वैशाखसम्म राख्न सकिने अध्यक्ष बरुवालले बताउनुभयो । बेमौसममा प्रतिकिलो रु दुई सयका दरले सुन्तला बिक्री गर्न सकिने उहाँको भनाइ छ ।

सुन्तलाको स्वाद र गुणस्तरमा ह्रास आउन नदिन चिस्यानयुक्त वातावरण र सुरक्षित रुपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने बिरौटाका कृषकले गत वर्ष गरेको परीक्षण सफल भएपछि यसपालि सुन्तला भण्डारणलाई निरन्तरण दिएका हुन् ।

दोसल्लेमा भने पहिलोपटक परीक्षणका लागि सोलार स्टोरमा सुन्तला राखिएको दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष मिलन गर्बुजाले बताउनुभयो । “मौसममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने भएकाले केही समय भण्डारण गरेपछि बेमौसममा बढी मूल्य पार्ने प्रयास गरेका हौँ”, गर्बुजाले भन्नुभयो ।

समूहका अनुसार ४५ घरधुरीको बसोबास रहेको दोसल्लेका कृषकले यस वर्ष रु २५ प्रतिकिलोका दरले करिब रु २० लाख बराबरको सुन्तला बिक्री गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले बिरौटाको भवन बनाउन रु पाँच लाख र दोसल्लेमा रु चार लाख ४४ हजार अनुदान सहयोग उपलब्ध गराएको थियो । कृषकले बिरौटाको भवनमा रु एक लाख ७५ हजार र दोसल्लेमा रु एक लाख ४८ हजार बराबरको श्रमदान गरेका थिए । सुन्तला भण्डारणको सुविधा भएपछि बगैँचा व्यवस्थापन, रोगकिरा नियन्त्रण र उत्पादन वृद्धिमा सघाउ पुग्ने कृषि कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो ।

पुससम्म फल टिप्दा बोटलाई असर नपुग्ने र आगामी वर्षको उत्पादनमा पनि असर नहुने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्