एमाले अभियान फेरि शुरू हुने



काठमाडौं, (नेस)
सप्तरीको राजविराज घटनापछि नेकपा एमालेले तीन दिनका लागि स्थगित गरेको मेची–महाकाली अभियान पुनः शुरू गर्ने निर्णय गरको छ। एमालेले फागुन २७ गते हेटौंडाबाट पूर्ववत् कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन कार्यकर्तालाई निर्देशन दिएको छ। बैठकले प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको बताउँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरूमा कार्यकर्ता भेलाको कार्यतालिका २ नम्बर प्रदेशका नेतृत्वसँग परामर्श गरेर मात्र टुंगो लगाउने बताउनुभयो।

एमालेले आफ्नो पार्टी कार्यालय तोडफोड गर्ने, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक गतिविधि रोक्न चेतावनी दिएको छ।

एमालेले सिराहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट,बारा जिल्लामा पूर्वनिर्धारित मधेस अभियानका कार्यक्रम स्थगित गरेर हेटौंडाबाट पश्चिम लाग्ने तयारी गरेको छ। नेता–कार्यकर्ता र पार्टी कार्यालयको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन पनि एमालेले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्