दिवसमै सीमित नारी दिवसहरू



ज्ञानमणि नेपाल कालोटोपी

विगत वर्षहरूमा पनि नेपालमा नारी दिवस मनाइए। तर उपलब्धि के भए, कसैले खोजी गरेनन्। आगामी वर्षहरूमा पनि यस्ता दिवसहरू मनाइएला, तर यसरी नै उपलब्धितिर ध्यान नदिने हो भने ती फगत वार्षिक कर्मकाण्ड पूरा गरेजस्तै नहोलान् भन्न सकिँदैन। यसरी अन्तर्राष्ट्रिय स्तरमै नारी दिवस मनाउन थालिएको पनि १०७ वर्ष भइसकेछ। विश्वका विभिन्न राष्ट्रहरूले झैँ पछिल्ला वर्षहरूमा नेपालले पनि नारी दिवसलाई मनाउन थालेको धेरै भइसक्यो। ८ मार्चलाई नारी दिवसको रुपमा विश्वले मनाउन थालेको प्रायः सबैलाई थाहा छ। यस दिन सबैजसो संघसंस्था, व्यक्ति तथा देशका उच्च ओहदामा आसीन व्यक्तित्वहरूले नारीहरूलाई शुभकामना दिने गरेका छन्। मानौं पछिल्ला दिनहरूमा यो फेसन नै भइसकेको छ।

विश्वले झैँ नेपालले पनि यस वर्षको नारी दिवस मनाउँदै छ। यो दिवसलाई निरन्तरता दिनु रामै्र कुरा हो। तर पछिल्ला दिनहरूमा नेपालमा महिलाहरूमाथि भइरहेका र हुने गरेका शारीरिक, मानसिक तथा घरेलु हिंसालाई केलाउने हो भने यहाँका नारीहरूले यो दिनलाई केवल दिवसको रुपमा मात्र मनाउँदै आएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ। कतै दाइजोको निहुँमा महिलालाई यातना दिइएको छ त कतै परिवारले भनेजसरी बिहे गर्न नमानेको भन्दै परिवारबाटै जिउँदै जलाइएका घटनाहरू हामीले सुन्दै आएका छौं। दुई वर्षअघि प्रेमप्रस्ताव नमानेको भन्दै राजधानीमै दुई युवतीलाई एसिड खन्याएर युवकहरू फरार भएको यथार्थ हामी सामु ताजै छ। केही महिनाअघि मात्र बुटवलमा यस्तै घटना भएको थियो। अझ अचम्मको कुरा त आफ्नै बाबु तथा हजुरबा नाता पर्नेहरूले छोरी तथा नातिनीहरूलाई बलात्कार गर्ने गरेको जस्ता हामीले सोच्नै नसक्ने खालका विषयहरू सुन्नुपर्दा नेपालजस्तो देशमा महिलाहरूले के भविष्यको कल्पना गर्न सक्लान् भन्ने आभास हामी सबैमा हुने गरेको छ। हिजोआज यस्ता घटना नसुनिएको कुनै दिन नै छैन भन्दा पनि हुन्छ। यो हाम्रो लागि त नराम्रो कुरा हो नै, अझ विश्वमा पनि नेपालको बदनाम गर्ने विषय पनि हो।

महिलाहरू बलात्कार हुनु, विभिन्न बहानामा उनीहरूको हत्या हुनु तथा परापूर्वकालदेखिकै मान्यताका रुपमा उनीहरूलाई समाजले अर्कै दर्जाको नागरिकका रुपमा हेर्नुजस्ता विषयहरू आधुनिक समयको समाजका लागि परिवर्तनको बाधक मात्र होइनन्, कलंक पनि हुन्। यहाँ पुरुषले महिलालाई दबाएर राख्नुलाई अहिले पनि सामान्यरुपमै लिनुपर्ने अवस्था एकातिर छ भने अर्कातिर महिलाले पनि महिलालाई नै सताएर विभिन्न लान्छना लगाइने गरिएको हामीले देखेसुनेकै छौं। यो पक्कै पनि राम्रो कुरा होइन। एकातिर हामी आधुनिक र परिवर्तित देशको परिकल्पना गरिरहेका छौं भने अर्कातिर पुरातनवादी संस्कृतिको जगेर्ना गर्ने परिपाटीको पनि पछि दगुर्दै छौं। यसले अहिलेको युवा जमातलाई कतातिर लाग्ने भन्ने भ्रम पनि सृजना गरिरहेको छ। पुराना कुरा मान्नुलाई नराम्रो भन्न खोजिएको होइन। बरु पुराना विषयभित्र रहेका विकृतिहरूलाई हटाएर आवश्यक कुराहरूलाई मात्र अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्ने टड्कारो आवश्यकतालाई औंल्याइएको भने पक्कै पनि अनुमान लगाउन सकिन्छ।
विगत केही महिनादेखि विभिन्न संघसंस्थासँग आबद्ध महिलाहरूले महिलाहरूमाथि हुने गरेका अपहरण, बलात्कार, हत्या तथा शारीरिक र मानसिक हिंसालाई पूर्णरुपमा अन्त्य हुनुपर्ने मागसहित विभिन्न मन्त्रालय र संस्थाहरूमा धाइरहेका छन्। सम्पूर्ण देशभरिका महिला यस्ता समस्याबाट पीडित हुँदै आइरहेको भए पनि माग राखेर मन्त्रालय धाउने महिलाहरूको संख्या एकदमै न्यून रहेको देखिन्छ। हुन त सबै महिलाहरू मन्त्रालय जान सम्भव पनि छैन, भन्न खोजिएको कुरा यो हो कि जहाँका महिला पीडित भएका छन् त्यहाँ पनि उनीहरूले आवाज उठाएका छैनन्। बरु यस्ता हिंसाहरूलाई दबाएरै लुकाएर राख्ने गरेका छन्। यसले हिंसा गर्नेहरूलाई अझ प्रश्रय दिइरहेको देखिन्छ।

त्यति मात्र होइन, खुलेआमरुपमा हिँडेका महिला हिंस्रकहरूलाई राज्यले पनि कारबाहीको दायरामा ल्याउन सकेको देखिँदैन। महिनौंदेखि आवाज उठाइरहे पनि उनीहरूको आवाजलाई सरकारले सुन्दै सुनेको छैन। राज्यले नै सुन्दैन भने अरुले त यसमा चासो राख्ने कुरा पनि भएन। अनि राज्यले वर्षभरि अनेक बहानामा यातना पाइरहेका महिलाहरूलाई एक दिन शुभकामना दिनुको के अर्थ रहन्छ र ? अब उनीहरूलाई शुभकामना होइन, वास्तवमै न्याय र इमानदारिताको वकालत गर्ने सरकारको खाँचो छ। सबै तहबाट विशेषरुपमा प्राथमिकतामा राख्ने हो भने एकदिन हामीले सोचेको जस्तो समाज र देशको निर्माण गर्न सकिएला तर यो दिनको अझ लामो प्रतीक्षा गर्नुपर्ने तीतो यथार्थ हामीले बुझेकै छौं।

हामी नारामा महिलाहरूलाई सबैले हेपिएको र दबाइएको कुरा गर्छौं। तर यति सोच्दैनौं कि मैले पनि महिलाहरूलाई कुनै बहानामा हिंसामा पारेको त छैन ? यस्ता कुरामा आफ्नो घरभित्रै महिलाहरूलाई बन्देज गर्नेहरू पनि छन्। यस्ता मान्छेले महिलाहरूको पक्षमा वकालत गर्न खोज्नु हास्यास्पद छ तर पनि सबैलाई चेतना जगाउन प्रयास गर्नु आफैंमा एउटा राम्रो कामको शुरुवात भने पक्कै पनि हुन सक्छ। कुनै पनि दिवस मनाउने मात्र होइन, त्यो दिवस मनाएपछि के उपलब्धि हासिल भयो भन्नेतिर लाग्नु पनि आवश्यक छ। यो हाम्रो कर्तव्य पनि हो। दिवस त बर्सैपिच्छे मनाएकै थियौं। अब पनि मनाउँला, तर दिवसलाई दिवसको रुपमा मात्र नभएर सार्थक र उपलब्धिमूलक बनाउन सक्यौं भने प्रत्येक वर्ष मनाउने नारी दिवसजस्तै अन्य दिवसको पनि महत्व झल्केला।

प्रतिक्रिया दिनुहोस्